Aamsanchar

अब ज्ञानेन्द्र शशांक र खुमबहादुर एकै ठाउँमा !

Author Image
शुक्रवार, पौष ८, २०७३

काठमाडौं

gyanendra-shah-shashak-khumbahadur
पूर्व राजा ज्ञानेन्द्र शााह, कांग्रेस महामन्त्री डा. शशांक कोइराला र अर्का नेता खुमबहादुर खड्काको राजनीतिक र व्यक्तिगत मिसन नै फरक छ । कांग्रेसका यी नेताहरुले ज्ञानेन्द्रलाई हटाउन र गणतन्त्र ल्याउने सम्झौतामा हस्ताक्षर गरेका थिए ।

तर, यी सबैलाई जोड्ने माध्यम बनेको छ हिन्दु धर्म । मुलुकमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई स्वीकार गरेको संविधान जारी भएको डेढ वर्ष बिते पनि संघीयता धरमरमा छ भने धर्मनिरपेक्षताको ठाउँमा हिन्दु राज्य बनाउन यसका अभियानकर्ता र नेताहरु सक्रिय हुन थालेका छन् । दुई किनारा जस्ता लाग्ने शाह, कोइराला र खड्का मुद्दाका हिसाबमा एक ठाउँमा उभिने संकेत देखिंदै आएको छ ।

प्रभाव बढाउँदै ज्ञानेन्द्र

पूर्व राजा ज्ञानेन्द्र त खानदानी र राष्ट्रवादी छविकै कारण पनि हिन्दु राज्यको पक्षमा छन् । उनी प्रत्यक्ष हिन्दुको वकालत गरिरहेका छैनन् । तर, विभिन्न शक्तिधामको यात्रा, ठूला योगी, सन्यासी, हिन्दुधर्मका ठूला गुरुसँगको नियमित भेट, भारतको बेलाबेलाको भ्रमणले उनी हिन्दु राज्यप्रति कति प्रतिक्षामा छन् भन्ने बुझ्न गाह्रो पर्दैन ।

अझै उनका पछाडि राप्रपाका नेता कमल थापाको साथ र सहयोग पनि उत्तिकै । थापाको राप्रपा नेपाल मात्र हुँदा हिन्दु राज्य अभियान नै थियो । अहिले राप्रपा एक भए पनि हिन्दुको विषय छोडेको छैन ।

यो पढ्नुस्: दस बर्षमा पूर्वराजा ज्ञानेन्द्रका ३९ विज्ञप्ती

मुद्दा मिल्नेसँग चाहे ती पूर्व राजा हुन् वा कांग्रेसका शशांक वा खुमबहादुर नै किन नहुन् सहकार्य गर्ने अभियानमा छन् । आफ्नो गुमेको गद्दी फर्काउन सक्ने सम्भावन न्यून रहे पनि ८० प्रतिशत हिन्दु भएको देशमा यो मुद्दालाई फर्काउन सके अरु मुद्दाका लागि पनि नजीर बस्ने ज्ञानेन्द्रको विश्लेषण रहेको देखिन्छ । तत्काल राजतन्त्र फर्किने सम्भावना नभए पनि धर्म निरपेक्षताबाट हिन्दु राज्यमा देश फर्के अरु मुद्दा पनि ढिलो चाँडो बहसमा आउने बुझाई उनमा रहेको देखिन्छ ।

बोलेको बोल्यै छन् शशांक

यता कांग्रेसका महामन्त्री मात्र नभएर कोइराला खानदानका ठूला नेता शशांकले आफूलाई धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता जस्ता विषय मन नपरेको जस्ता प्रतिक्रिया दिंदै आएका छन् ।  ८० प्रतिशत हिन्दु भएको देशमा हचुवाको भरमा धर्मनिरपेक्षता घोषणा गरिएको भन्दै जनमतसंग्रह गर्नुपर्ने पक्षमा छन् ।

महाधिवेशनको मुखैमा उनले हिन्दु राज्यको विषयमा बोलेका थिए। त्यसता देश भित्र र बाहिर जहाँ जाँदा पनि उनी हिन्दु राज्य बनाउने हिसाबले अभिव्यक्ति दिइरहेका छन् । उनको यो मत र मुद्दा पूर्व राजा ज्ञानेन्द्रसँग मिल्ने देखिन्छ ।

खुमबहादुर ज्ञानेन्द्रसँग झन् नजिक

कांग्रेसमा खुलेर हिन्दु राज्यको विषयमा वकालत गर्ने कोही छन् भने ती हुन् खुमबहादुर खड्का । भ्रष्टाचार गरेर जेलबाट निस्किएपछि उनले आफ्नो दाग र ट्याग मेटाउन पनि हिन्दु धर्मको अस्त्र उठाएका छन् ।

धर्मनिरपेक्षताबाट हिन्दु राज्यमा देशलाई फर्काउन सके आफ्नो विवादास्पद छवि धेरैले बिर्सने र आफूलाई बहुसंख्यकको हितको विषय उठाएको जस जाने बुझेका खड्का हिन्दु राज्यको लागि महाअभियान नै संचालन गरेर लागेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर