घोराही:
प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न सुझाव दिँदै दरबार हत्याकाण्डको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने भन्दै घुमाउरो भाषामा उनलाई धम्की दिएका छन् ।
प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भने, ‘उनी धेरै नबोले हुन्छ, जति बोल्छन्, झन् धेरै दुःख पाउँछन्, चुप लागेर बसून्, त्यही राम्रो हुन्छ ।’
‘पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्ति त्यस्तो केही हैन, उनले धमिलो पानीमा तीर हानेर माछा मर्छ कि भन्ने सोचेका होलान् तर त्यस्तो केही हुँदैन’, प्रधानमन्त्री दाहालले ज्ञानेन्द्रलाई सुझाव दिँदै भने । दाहालले दरबार हत्याकाण्डको उच्चस्तरीय छानबिन हुनुपर्ने दोहोर्याएका छन् ।
उनले दरबार हत्यकाण्डलगत्तै आफूहरूले त्यसबारेमा उच्चस्तरीय निष्पक्ष छानबिन गरेर सत्यतथ्यबाहिर ल्याउनुपर्ने माग गर्दै आएको भन्दै अझै पनि त्यही मान्यतामा रहेको बताए । मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्रीले दरबार हत्याकाण्ड छानबिनको कुरा प्रस्तावकै रूपमा नल्याएको दाबी उनको थियो ।
‘मन्त्रिपरिषद् बैठकमा मैले राजनीतिक परिस्थितिका बारेमा बिफ्रिङ गरेको थिएँ, त्यसपछि मन्त्रीहरूलाई आफ्ना धारणा राख्न भनें’, दाहालले स्पष्टोक्ति दिए, ‘त्यसपछि मन्त्रीहरूले यस्तो कुरा उठाउनुभएको हो । निर्णय गर्नैपर्ने गरी प्रस्ताव गर्नुभएको होइन तर, दरबार हत्याकाण्डका बारेमा हामी पहिलादेखि नै उच्चस्तरीय र सत्यतथ्य छानबिन हुनुपर्छ भन्ने मान्यता राख्छौं ।’
जनयुद्धको ऐतिहासिक थलो रुकुमको चुनबाङमा गुरिल्ला ट्रेकिङ तथा युद्ध संग्रहालय उद्घाटन तथा रोल्पाको घर्तीगाउँमा सहिद मार्गको अवलोकन गरेर दाहाल शनिबार माओवादी केन्द्र प्रदेश नं. ५ का नेताकार्यकर्ताको प्रशिक्षणका लागि दाङ आएका हुन् ।