बिर्तामोड।

जिल्ला अदालत झापाबाट कैद तथा जरिवाना तोकिएपछि फरार भएका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गर्ने क्रम तीब्र बनाएको छ ।
प्रहरीको एक टोलीले झापाको विभिन्न स्थानबाट त्यस्ता फरार अभियुक्तलाई पक्राउ गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए । शर्माका अनुसार चालू आर्थिक बर्षमा जिल्लाका विभिन्न स्थानबाट ८४ जना त्यस्ता फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत बुझाइएको छ ।
उनीहरुबाट ६८ लाख ४२ हजार ८ सय ६३ रुपैयाँ ५२ पैसा राजश्व संकलन भएको प्रहरीले जनाएको छ । पक्राउ परेका ८४ जनाको एक सय ५४ बर्ष तीन महिना १२ दिन कैद भुक्तान गर्न बाँकी रहेकाले उनीहरुलाई अदालत बुझाएको बताइएको छ ।
पक्राउ परेका अभियुक्तहरुमा सबैभन्दा बढी जवरजस्ती करणीका रहेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार १२ जना जवरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ गरी अदालत बुझाइएको छ ।
त्यस्तै अंशवण्डा मुद्दाका ८, डाकाका ६, जालसाजी र सवारी ज्यानका ५÷५ वटा, बहुविवाहका ४ वटा, चोरीका ६ वटा, लुटपाटको एउटा, सवारी अंगभंग १, कीर्ते नागरिकता २, चन्दा २, कुटपिट १, कर्तव्यज्यानका ३ वटा, सार्वजनिक अपराधका १ र लागूऔषध मुद्दाका तीन जना फरार अभियुक्तलाई पक्राउ गरी अदालत बुझाइएको हो ।

