भक्तपुर,
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश संकटको चक्रव्यूहमा फसेको बताउनु भएको छ ।
सोमबार भक्तपुर नगरपालिका लिवालीमा लायन्स फिटनेस क्लबको उद्घाटन गर्दै थापाले देश अत्यन्तै दुःखद घडीमा गुज्रिरहेको बताउनु भएको हो । परिवर्तनलाई संस्थागत गर्ने नाममा ठूला दलले गलत नीति लाद्ने कार्य भएकाले देशमा अस्थिरता र अराजकता बढ्दै गएको उहाँले टिप्पणी गर्नुभयो ।
राजनीतिक अराजकता र अस्थिरताले गर्दा देशमा लगानी गर्ने वातावरणसमेत नभएको टिप्पणी गर्दै उहाँले नागरिकको दैनिक जीवनमा कठिनाई परेको भनाई राख्नुभयो । नेपाली जनताले ठूला तीन दलको विकल्प खोजेको अवस्थामा दुई राप्रपाबिच एकीकरण भएको चर्चा गर्दै उहाँले राप्रपा जनताले रोजेको दल हुने दाबी गर्नुभयो ।
कार्यक्रममा भूमिसुधार मन्त्री बिक्रम पाण्डेले नेपाललाई विकासमा अगाडि बढाउन आम युवा वर्गलाई एकत्रित बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । त्यसअवसरमा पूर्वभूमिसुधार राज्यमन्त्री एवं राप्रपाका केन्द्रीय सदस्य दिनेश श्रेष्ठ, क्लबका अध्यक्ष राजेन्द्र लाखा लगायतले युवालाई समेटेर राप्रपा अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।