काठमाडौँ। ‘स्वस्थ मानिस ः स्वस्थ मुलुक’ भन्ने क्यानाडाको सरकारको नीति कुपोषणबाट ग्रस्त नेपाल जस्ता मुलुकका लागि प्रेरणादायी हुन सक्ने नेपाली स्वयंसेवीले बताएका छन् ।
ग्रामीण पुनःनिर्माण नेपाल प्राथमिक शिक्षा, स्वास्थ्य तथा पोषण परियोजनाले आज यहाँ आयोजना गरेको बालपोषण, संरक्षण तथा गुणस्तरीय शिक्षा विषयको गोष्ठीमा ‘कुपोषणलाई शून्यमा झाराँै’ भनी अभियान चलाइरहेका ती स्वयंसेवीले मानिसका लागि स्वस्थ खानापान निकै महत्वपूर्ण भए पनि एक छाक खाना नखाई भोकै सुत्ने मानिसको सङ्ख्या विश्वमा एक अर्ब २० करोड रहेको जानकारी दिए ।
भोकलाई न्यून गर्ने मात्र नभई शून्यतामा झार्नु पर्नेमा उनीहरुको जोड थियो । सो अवसरमा नेपालमा झन्डै ४० प्रतिशत बालबालिका कुपोषणको सिकार भएको र कुपोषणको कारण उनीहरुले जीवनभर पुड्कोपनको पीडा भोग्नुपरेको बताइयो ।
कुपोषण नियन्त्रण गर्न सरकारले विभिन्न ४० जिल्लामा सुनौला हजार दिन र १८ जिल्लामा बहुक्षेत्रीय पोषण अवधारणा लागू गरिसकेको छ । कुपोषण नियन्त्रणका लागि शक्ति दिने र शारीरिक वृद्धि गर्ने खाना पर्याप्त खुवाउनुपर्ने उनीहरुको राय छ ।
सो अवसरमा परियोजनाले ग्रामीण क्षेत्रमा गरेको अध्ययनअनुसार कुनै एक गाउँमा पोषणको अभावमा कुपोषण भएको र अर्को बच्चा स्वस्थ रहेको पाइएको, ४२ महिनाको कुपोषण भएका बच्चाको तौल ९.५ केजी रहेको र पोषण गृहमा राखिएको १६ दिनपछि ती बच्चाको तौल १०.४ केजी पुगेको जानकारी दिइयो ।
रामेछाप, मोरङसहित केही जिल्लामा गरिएको पोषण कार्यक्रममा एक हजार ५१७ मध्ये ३७७ बालबालिका स्वस्थ भएको तथा १२७ बालबालिका अस्वस्थ भएकाले अस्पतालमा भर्ना गरिएको सो संस्थाले जनाएको छ । चितवनको चेपाङ वस्तीसहित केही जिल्लामा ४८ वटा आमा समूह गठन गरिएको र मातृ तथा शिशु मृत्युदर शून्यमा झार्न सफल भएको संस्थाको दावी छ ।
कार्यक्रममा केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले ग्रामीण क्षेत्रमा पोषण कार्यक्रम, आमा तथा बालबालिकालाई दिइएको शिक्षा जस्ता कार्यक्रमले स्थानीय जनतामा सचेतना वृद्धि भएको, उनीहरुको व्यवहारमा परिवर्तन देखिएको तर उमेर नपुग्दै प्रेम विवाह गर्ने बढ्दो प्रवृत्ति चुनौतीको रुपमा देखिएको बताउनुभयो ।
बाल स्वास्थ्य महाशाखाका वरिष्ठ जनप्रशासकीय अधिकृत हरिहर शर्माले बहुक्षेत्रीय पोषण अवधारणा गाउँगाउँ पु¥याउन स्वयम्सेवीलाई आग्रह गर्नुभयो ।
परियोजनाका प्रबन्धक भानु पराजुलीले बालबालिकामा कुपोषणका कारण उनीहरुको शिक्षण सिकाइ ढिलो हुने जानकारी दिँदै संस्थाको गतिविधिपछि ८० प्रतिशत ग्रामीण जनतामा जनचेतना वृद्धि भएको तथा विद्यालयमा विद्यार्थीको उपस्थिति १० प्रतिशतबाट वृद्धि भएर १५ प्रतिशत पुगेको जानकारी दिनुभयो । रासस