Aamsanchar

नेपाली सेनासँग संयुक्त अभ्यास गर्ने चीनको आधिकारिक धारणा सार्वजनिक, भारत थप शंकामा

Author Image
शुक्रवार, पौष १५, २०७३

काठमाडौं :C01O7LQVEAETfvF

चीन र नेपालबीच हुने भनिएको संयुक्त सैन्य अभ्यासको चिनियाँ रक्षा मन्त्रालयले पुष्टि गरेको छ।  यसअघि परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाली सेना र चिनियाँ सेनाबीच संयुक्त अभ्यास हुने कुनै कार्यक्रम नरहेको बताएका थिए। परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर संयुक्त अभ्यासको समाचार खण्डन गरेको २४ घण्टा नबित्दै चिनियाँ पक्षले संयुक्त अभ्यासको पुष्टि गरेको छ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले आफ्नो मासिक पत्रकार सम्मेलनमा यस विषयको जानकारी गराएका हुन्। उनले पत्रकार सम्मेलनमा पछिल्ला वर्षहरुमा चीन र नेपालको सेनाबीच विभिन्‍न विषयमा साझेदारी भएको बताए। उनले सैन्य अभ्यासका विषयमा कुराकानी भैरहेको र बिस्तृत जानकारी उपयुक्त समयमा आउने बताएका छन्।  पिपुल्स डेली चाइनाले चिनियाँ रक्षामन्त्रालयका प्रवक्तालाई  उदृत गर्दै लेखेको छ,‘नेपाल र चीनले आफ्नो पहिलो संयुक्त सैन्य अभ्यास २०१७ मा गर्नेछन्।’ चिनियाँ रक्षा मन्त्रालयले आफ्नो वेवसाइटमा नेपाल र चीनबीच पहिलोपटक सैन्य अभ्यास हुने जनाएको छ।

के भन्छ नेपाली सेना

यसअघि थाहा खबरसँगको कुराकानीमा नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले नेपाल र चीनबीच सैन्य अभ्यास हुने पक्का भएको बताएका थिए,‘हाम्रो यो अभ्यास अरु देशहरुसँग पनि हुने गरेको छ। सेनाको रक्षा क्षमता अभिवृद्धी गर्नका लागि यस्तो अभ्यास हुने गरेको छ। यसमा नयाँ कुरा केही छैन्। यो नियमित प्रक्रियाअन्तर्गतकै अभ्यास कार्यक्रम हो,’ उनले भनेका थिए।

भारतको आपत्ति

चीनसँग नेपालले गर्न लागेको संयुक्त अभ्यासलाई लिएर भारतीय पक्ष चिन्तित देखिएको समाचार टाइम्स अफ इन्डियाले प्रकाशित गरेको थियो। ‘विवादास्पद गिलगित(बाल्टिस्तान क्षेत्रमा चीनको उपस्थिति कम गर्न सरकारले संघर्ष गरिरहनु परेका बेला सार्वजनिक रुपमा भारतको इच्छा विपरित कुनै काम नगर्ने घोषणा गरेको बेइजिङले नेपालमा गर्न लागेको यस्तो अभ्यासले भारतलाई शशंकित बनाएको छ।

भारतीय सरकारी अधिकारीहरुले चीनसँग विकास भएको नेपालको सैन्य-सम्बन्ध कुनै हालतमा भारतको हितकर हुन नसक्ने बताएका छन,’ टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख थियो। चीनको ग्लोबल टाइम्सले नेपाल र चीनबीच हुन लागेको सैन्य अभ्यासबाट भारत शशंकित बन्‍न नपर्ने समाचार प्रकाशित गरेको थियो। समाचारमा दुई देशका सुरक्षा निकायबीच थप समझदारी र विश्वासको वातावरण बन्‍ने उल्लेख थियो।

नेपाल र चीनले मिलेर एकिकृत सुरक्षा नीति तय गर्नसक्ने समेत समाचारमा उल्लेख छ। ‘यस सम्बन्धले दक्षिण एशियाली देशसँग चीनको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत गर्ने चीनियाँ पक्षले जनाएको छ,’ ग्लोबल टाइम्सको समाचारमा उल्लेख छ।

के भन्छन् अन्तर्राष्ट्रिय समाचार मिडिया 

चिनियाँ पक्षले नेपाल र चीनबीचको संयुक्त अभ्यासको पुष्टि गरेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यो समाचारले प्राथमिकता पाएको छ। रोयटर्सका लागि बेइजिङबाट बेन ब्लानचार्डले लेखेका छन्,’चीनले आगामी वर्ष नेपालमा पहिलो पटक संयुक्त सैन्य अभ्यास गर्ने चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ। यो कदमले भारतका लागि दुखद हुनसक्छ।’

Views: 123

प्रतिक्रिया (०)