झापा।

मेची राजमार्ग अन्तरगत इलामको कोल्वुङ –२ मा सेल्फी खिच्दै गरेका एक युवकको शुक्रबार साँझ वसको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले दिएको जाकारी अनुसार फिक्कलबाट बिर्तामोड तर्फ आउँदै गरेको को १ ख ३५६१ नम्वरको वसले कोल्वुङमा रहेको सानो पाथीभरा नजिकै सेल्फी खिच्दै गरेका पाँचथरको फिदिम नगरपालिका–१ निवासी ३० वर्षीय विशाल सम्वाहाम्फेलाई ठक्कर दिएको थियो । वसको ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही ठाउँका २५ वर्षीय रोशन कन्दङ्वा वसको ठक्करवाट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते कन्दङ्वालाई उपचारका लागि झापातर्फ ल्याइँदै गरेको बताइएको छ ।
झापाबाट पाँचथर तर्फ मे ६ प २४१ नम्वरको मोटरसाइकलमा जाँदै गरेका उनीहरुले सडक पेटीमा मोटरसाइकल रोकेर कोल्वुङमा सेल्फी खिच्दा – खिच्दै वसले ठक्कर दिएको प्रहरीले जनाएको छ । वसको ठक्करबाट मोटरसाइकल चालक सम्वाहाम्फेको टाउँको चुडिएको बताइएको छ । त्यस्तै उनीसंगै मोटरसाइकलमा पछाडि सवार कन्दङ्वाको पनि अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
वस फिक्कलमा आयोजित बनभोज कार्यक्रममा सहभागी यात्रुलाई लिएर झापा तर्फ आउँदै गरेको प्रहरीले जनाएको छ । वस र चालक प्रहरी चौकी कोल्वुङले नियन्त्रणमा लिएको प्रहरी सहायक निरीक्षक खड्काले बताउनुभयो ।

