भरत शिवाकोटी

[युएई]

धेरै नेपाली युवाहरुको रोजगारीको गन्तव्य बनेको वैदेशिक रोजगारी सुन्दा जति सरल छ भोग्न भने बिल्कुलै त्यस्तो छैन ।

सबैका आ-आफ्नै सपना,वाध्यता,चाहना र अन्य यस्तै किसिमका आशाहरु पुरा गर्न जहाँसुकै भौतारिएको मान्छेको ग्यारेन्टी भने काही छैन अझ वैदेशिक रोजगारीमा त मान्छेको जीउधन झनै जोखिममा रहने गर्दछ । तरपनि जोखिम स्वीकारेको छन प्रवासीहरुले,ज्यान बाजी राखेका छन यिनीहरुले ।

यहि भिडमा झापा जिल्ला कन्काई नगरपालिका वडा नम्बर ३ सुरुङ्गामा बसोबास गर्ने जीवन राना आजभन्दा नौ वर्ष पहिले वैदेशिक रोजगारीको सिलसिलामा युएई आएररासअलखेमामा रहेको रोटाना सेक्युरिटी कम्पनीमा कार्यरत थिए ।
शुरुवाती समयमा यति लामो समय वैदेशिक रोजगारीमा रहने सोचेका थिएनन जीवनले तर घर व्यवहार र अन्य आवश्यकताले उनको प्रवासको बसाइ लम्बिदै गयो । कसैको जिन्दगीको भवितव्य कसले देखेको हुन्छ र ! जीवनलाई यस्तो के थाहा अनि के कल्पना ! तर भयो यस्तै भवितव्य ।
एक हप्ता पहिले गम्भिर सडक दुर्घटनामा परेर उनको ढाडको हड्डी भाँचियो अनि शरीरका अन्य अंगहरुमा गहिरा चोटहरु लाग्न पुग्यो ।जीवनलाई जीवन मृत्युको अवस्थामा सारजाह स्थित कुवेती अस्पतालको अर्थोपेडी वार्डमा त पुर्याइएको छतर मोटो उपचार खर्च र सो को अभावका कारण उनि झनै छटपटाईरहेका छन ।
सारजाहको एक गगनचुम्बी टावरमा दिनैपिच्छे डयुटी गर्ने जीवन हाल अस्पतालको बेडबाट सबै सँग सहयोगको अपिल गरिरहेका छन । अस्पताल स्रोतले उनको उपचारको निमित्त धेरै खर्च लाग्ने र त्यसको प्रबन्ध गर्न उपचारमा सहयोग गर्ने पक्षहरुलाई बताइसकेको रासअलखेमामा व्यवसाय गरिरहेका व्यवसायी तथा एनआरएन युथ कोअर्डिनेटर निश्चल तिर्थ दाहालले जानकारी दिएका छन ।
नेपालमा उनको उपचार हुन सक्ने वा नसक्ने,सुलभ खर्च र राम्रो उपचार कता ठिक हुन्छ भन्ने बारे छलफल चलिरहेको साथै आज भोलि नै अहिले उपचार भैरहेको अस्पताल बाट अझै सुविधा र राम्रो युएईकै अस्पतालमा स्थानान्तरण गरिने प्रक्रिया चलीरहेको दाहालले बताए ।
यता घाइते रानाले आफ्नो ढाडको दुइवटा हड्डी भाँचिएको र कम्मर मुनि दुइवटा खुट्टा चल्न नसकेको बताउँदै उपचारमा सहयोग गरिदिनुहुन युएइमा रहेका विभिन्न संघ, संस्था तथा संगठनहरुलाई सार्वजनिक अपिल गरेका छन भने सो पश्चात यहा रहेका संघ संस्था तथा संगठनहरुको अगुवाइमा आर्थिक साहायता संकलन शुरु गरिएको छ ।
दुर्घटनामा परि गम्भीर घाइते भएका जीवनअस्पताल पुगेको एक हप्ता बितिसकेपनी उनि कार्यरत कम्पनीले भने हालसम्म कुनै वास्ता नगरेको बुझिएको छ । जीवनलाई भेट्न उनका साथीभाई र यहाँ रहेका विभिन्न नेपाली संघ, संस्थातथा संगठनका प्रतिनिधीहरु अस्पताल पुग्ने क्रम बढेको छ भने अस्पतालमा खर्च अभाव हुन नदिन यहाँका संघ, संस्था तथा संगठनले आर्थिक साहायताका लागि हातेमालो गरेका छन ।

