[लोकेन्द्र खनाल]
रुकुम।
कुष्ठरोग लागेपछि अरुलाई पनि सर्छ भन्ने अन्धविश्वासका कारण रुकुमको बाँफीकोटकी एक महिला ४० वर्षदेखि खोलाको किनारमा बस्दै आएका छिन् ।
बाँफीकोट–८ की ६० वर्षीया तुलसा केसी कुष्ठरोगकै कारण ४० वर्षदेखि स्थानीय ढार्नेखोलाको छेउमा बस्न बाध्य भएकी हुन् ।
सानै उम्मेरमा कुष्ठरोग भएपछि उनलाई आफन्त र गाउँलेले खोलाको किनारमा बनाइदिएको सानो छाप्रोमा बस्दै आएकी हुन् ।
१३ वर्षको उम्मेरमै कुष्ठरोग लागेको र त्यस बेलादेखि आफू एक्लै बस्दै आएको केसीले बताइन । लामो समयदेखि कुष्ठरोगले पीडित बनेकी केसीलाई अहिले भने सञ्चो भइसकेको छ ।
रोग सञ्चो भए पनि गाउँमा आफूलाई हेर्ने दृष्टिकोण नफेरिएको उनको गुनासो छ । “अहिले पनि गाउँमा कतै म जाँदा कुष्ठरोगी आई भन्दै सबै टाढा भाग्छन्, केसीले भने त्यही भएर पनि म यही कटेरोमा (सानो छाप्रो) बस्छु ।”
उनी अहिले अपाङ्ग बनेकी छिन् । केसीका हात, खुट्टाका औँला छैनन् भने शरीरमा गाठागुठी परेका छन् ।
सुनसान खोलाको छेउमा रहेको सानो छाप्रोमा बस्ने केसीले गाउँमा मागेर छाक टार्ने गरेको बताइन ।
बस्ने बास, खाने गाँसका साथै रात काट्नको लागि कपडा समेत नभएपछि अहिले चिसोमा निकै समस्या भएको उनले बताइन । रोग लागेपछि औषधि उपचार गर्ने ठाउँ नहुँदा धामीझाँक्रीको कारणले गर्दा आफू अपाङ्ग भएको केसीको भनाइ छ । उनी अहिले लट्ठीको सहाराले गाउँघरमा जानआउन सक्छिन् ।
अहिले पनि केसीलाई कसैले घरभित्र जान भने दिँदैनन् । गाउँ घरमा गए पनि आँगनभन्दा टाढाबाटै खानेकुरा माग्ने गरेको उनले बताइन् ।