Aamsanchar

राजेन्द्रकुमार बस्नेतः व्यवसायीको हित र समाजसेवामा सक्रिय

Author Image
मङ्गलवार, पौष १९, २०७३

rajendra kumar  basnetराजेन्द्रकुमार बस्नेत (६०) चार कार्यकालदेखि मेची यातायात संघको सभापति छन् । बिर्तामोड–१ मा प्रधान कार्यालय रहेको संघमा तीन सय व्यवसायी (बस र जीप) आबद्ध छन् । यातायात व्यवसायीले उद्योग र स्थायी व्यवसायीको रुपमा स्थापित हुन नसकेकोमा उनी सधैं चिन्ता व्यक्त गर्छन् । कानूनको फितलो कार्यान्वयन र यातायात क्षेत्रलाई हेर्ने सरकारको स्पष्ट नीति नहुँदा यातायात व्यवसायी मारमा परेको उनको ठहर छ ।
२०३६ सालबाट उनी यातायात व्यवसायमा छिरेका हुन् । गोपालकुमार बस्नेत, नरेन्द्र बस्नेत, नारायण थापा र उनी (राजेन्द्र) मिलेर दुईवटा बस खरिद गरी शुरुमा सञ्चालनमा ल्याएका थिए । सयपत्री बस सेवाको नामबाट उनीहरुले सेवा शुरु गरेका हुन् । अहिले पनि सो कम्पनी रहेको छ । दर्जन बढी बसहरु कम्पनीले सञ्चालन गथ्र्यो । तराईका गाउँ र दुरदराज मात्र होइन, पहाडका कुनाकन्दरासम्म एक समय सयपत्रीका बस पुग्थे । सयपत्रीका सहयात्रीहरुले पेशा परिवर्तन गर्दै गएपछि अहिले राजेन्द्र मात्र छन् । र, बस पनि कमै छ । मेची यातायात संघमा पनि उनी २०३६ सालबाटै कार्यसमिति सदस्यको रुपमा चारै कार्यकाल जिम्मेवारी निर्वाह गर्न सफल भए । २०४५ सालमा संघको उपसभापति भए । २०५० सालमा सभापति भए र दोस्रो कार्यकाल पनि उनैले नेतृत्व गरे । २०६७ सालमा तेस्रो र २०७१ बाट चौथो कार्यकालका लागि उनी सभापतिमा चुनिएर भूमिका निर्वाह गरिरहेका छन् ।
कम बोल्ने, शालिन स्वभाव, कसैलाई झुटो नबोल्ने, इमान्दार, अग्रज व्यवसायीका रुपमा उनी सबैमाझ परिचित छन् । यातायात क्षेत्रमा धेरै समस्या र चुनौति रहेको उनको अनुभव छ । मुलुकमा यातायात क्षेत्रको समस्या र यातायात माथिको आक्रमण गर्नेलाई कारवाही नहुँदा यातायात व्यवसायी मारमा पर्नुपरेको उनको भनाइ छ । कानूनलाई कागजमै सिमित राखी हरेक समस्याको समाधान र माग राख्ने शैली सडकबाट हुनेगरेको र सडकबाटै निर्णय गर्ने प्रवृत्तिले यातायात क्षेत्र नराम्ररी प्रभावित भएको उनी बताउँछन् । अन्य मुलुकमा बीमा कम्पनी र अदालतले दुर्घटना लगायतको विषयमा जिम्मेवारीपूर्वक तत्काल निर्णय लिने भए पनि नेपालमा भने व्यवसायी संघको टाउकोमा त्यस्ता जिम्मेवारी आउने गरेको राजेन्द्रको भनाइ छ । यातायात क्षेत्रलाई उद्योगको रुपमा स्थापित गरी यसलाई स्थायी बनाउन राजनीतिक दल र सरकारले गम्भीर रुपमा कदम चाल्नुपर्ने उनको सुझाव छ । सुरक्षा र सुविधाको क्षेत्रमा ठोस काम गर्ने हो भने सम्भावना धेरै रहेको उनी बताउँछन् । सरकारले विभिन्न आन्दोलनमा यातायात व्यवसायीलाई यातायात क्षेत्रमाथि भएको आक्रमणको क्षतिपूर्ति दिने घोषणा गरे पनि अहिलेसम्म कुनै व्यवसायीले क्षतिपूर्ति नपाएको सभापति राजेन्द्रको भनाइ छ । सरकारले कानूनको कार्यान्वयनमा पनि कडाइ नगर्ने अनि जिम्मेवारी पनि नलिने प्रवृत्तिका कारण समस्या बढ्दै गएको उनी बताउँछन् ।
अहिले मानिसको मृत्युको एउटा कारण सडक दुर्घटना पनि बनिरहेको छ । दुर्घटना न्यूनीकरणमा व्यवसायी संघको पनि महत्वपूर्ण भूमिका हुन्छ । हामीले दुर्घटना कम गर्न के गर्न सकिन्छ भनी सभापति राजेन्द्रलाई सोध्दा उनको जवाफ थियो– ‘यो सडकको अवस्था र सडक उपभोग संस्कृतिमा भरपर्छ । गाईवस्तु छाडा छोड्दा, पैदलयात्री जथाभावी हिंड्दा, साँघुरो र बिग्रिएको सडक मर्मत नहुँदा पनि दुर्घटना भएका छन् । यसमा सुधार जरुरी छ । महत्वपूर्ण पक्ष भनेको चालकको सर्तकता हो । सवारीचालकले सतर्क भएर सवारी चलाइदिने हो भने दुर्घटना आधा कम हुन्छ ।’
इलामको साखेजुंग–३ मा पिता खम्बसिंह र माता जानुका (हाल दुबै जना स्वर्गीय) का साइँला पुत्रका रुपमा जन्मिएका उनी हाल बिर्तामोड–१ जगतबस्ती शान्तिटोलमा बस्छन् । उनका चार दाजुभाइ र छ दिदीबहिनी छन् । साखेजुंग मै ७ कक्षासम्म पढेका उनले इलामकै पब्लिक आदर्श हाइस्कूलबाट एसएसली दिए । धरानको महेन्द्र बहुमुखी क्याम्पसमा बीकमसम्म पढेका छन् उनले । धनकुटा हात्तीखर्ककी यशोदासँग २०४२ सालमा विवाह बन्धनमा बाँधिएका उनीहरुका दुई छोराछोरी छन् । छोरा निकुञ्जकुमार सिभिल इञ्जिनियर र छोरी स्नेहा डाक्टर छिन् । उनी राजनीतिमा पनि उत्तिकै सक्रिय रहे । उनका पिता पञ्चायतकालमा इलामको पाँच कार्यकालसम्म सभापति हुनुका साथै राष्ट्रिय पञ्चायत सदस्य पनि थिए । पिताबाटै प्रेरित उनी पनि शुरुमा पञ्चायतको राजनीतिमा सक्रिय भए । २०३९ सालमा कमल थापा युवक संगठनको केन्द्रीय अध्यक्ष हुँदा उनी मेची अञ्चल सभापति थिए । चारपाने–१ बाट उनी त्यसैताका वडा पञ्चायतमा निर्वाचित समेत भए । २०४९ सालमा कुमार बुढाथोकीसँगै उनी राप्रपामा प्रवेश गरे । २०५१ मा बुढाथोकीसँगै उनीमात्र होइन, अरु ७० जना जति सामुहिक रुपमा कांग्रेस छिरे । कांग्रेसको उनी जिल्ला सदस्यसम्म भए । अहिले पनि उनी पार्टीको सक्रिय सदस्य छन् । आफ्नो स्वभाव राजनीतिको लागि अनुकूल नभएकाले अगाडि बढ्न नसकेको उनको अनुभव छ ।
सामाजिक कार्यमा समेत राजेन्द्र उत्तिकै सक्रिय छन् । वीरता जेसीजको स्थापनाकालका सदस्य उनी सन् १९८४ को महासचिव र सन् १९८५ को कार्यकारिणी उपाध्यक्षसम्म भए । बीचमा उनले जेसीज छोडे । जेसीजमा लागेपछि अध्यक्ष नभइ छोड्दा अहिले उनलाई पछुतो छ । उनी आदर्श सामुदायिक सेवा केन्द्रको संस्थापक सदस्य, आकाशगंगा सहकारी संस्था बिर्तामोड–६ का अध्यक्ष र कृष्णप्रणामी मन्दिर बिर्तामोड– २ को अध्यक्ष समेत रहेका छन् । यातायात व्यवसायीको हकहित तथा सामाजिक सेवामै आफूलाई क्रियाशील बनाउन मन पराउने राजेन्द्रकुमार बस्नेत भन्छन्– ‘मेरो जीवनको लक्ष्य समाजसेवा नै हो ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 400

प्रतिक्रिया (०)

सम्बन्धित खबर