इनरुवा ।
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले २०७४ माघ ७ भित्र तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवामा नेपाल प्रेस युनियन सुनसरी शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले अहिलेको संसदको माघ ७ गतेसम्म मात्र कार्यकाल भएकाले सो समयभित्र सबै तीन तहकै निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।
चैतभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिँदै नेता सिटौलाले सो सम्भव नभए आगामी वैशाखभित्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताउनुभयो ।
लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा स्थानीयहरुले विभिन्न समस्या झेल्नुपरेकाले सो अवधिभित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नेता सिटौलाले स्थानीय निकायको निर्वाचन गर्दा पुरानो संरचना वा नयाँ संरचना जुन सम्भव हुन्छ त्यसै अवस्थामा निर्वाचन गर्नुपर्ने बताउनुभयो ।
मुलुक हाँक्न सक्षम नेताको अभावले मुलुकको वर्तमान राजनीति स्थिर हुन नसकेको बताउँदै उहाँले पार्टीभित्र मात्रै नभएर सम्पूर्ण दललाई मिलाएर अघि बढ्न सक्ने नेताको अभाव सिङ्गो मुलुकले महसुस गरिरहेको बताउनुभयो ।
गिरिजाबाबुको अभाव सबैले महसुस गरेको बताउँदै उहाँले वर्तमान राजनीति खिचातानी उन्मुख देखिनुमा सक्षम नेतृत्वको अभाव रहेको प्रष्ट्याउनुभयो ।