Aamsanchar

लालीगुराँस नगरपालिकाको सेवा ठप्प

Author Image
बिहिवार, पौष २१, २०७३

तेह्रथुम।

LaliGurankhabar

लालीगुराँस नगरपालिकाका कर्मचारीले सुरक्षाको प्रत्याभूति नभएसम्म कार्यालयको सम्पूर्ण सेवा ठप्प पारेकाले सर्वसाधारण मारमा परेका छन् ।

नगरपालिकाका कर्मचारीले शान्ति सुरक्षाको माग गर्दै बुधबारदेखि कार्यालयबाट प्रवाह हुने सबै सेवा ठप्प बनाएका छन् । नगरपालिका कार्यालयले सार्वजनिक सूचना जारी गरेर नगरपालिकासहित सबै वडा कार्यालयको समेत सेवा ठप्प बनाएपछि सर्वसाधारण मारमा परेका हुन् ।

स्थानीय अर्जुन माबोहाङको नेतृत्वको समूहले मङ्गलबार नगरपालिकाको कार्यकक्षमा प्रवेश गरी कर्मचारीमाथि गालीगलौज गर्दै आक्रमण गर्नु निन्दनीय भएको र त्यसपछि पनि धम्की दिएकाले कार्यालयको सेवा ठप्प पारिएको कार्यकारी अधिकृत मणिराम खतिवडाले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस लालीगुराँस नगरपालिका कार्यसमितिका सभापति भएका व्यक्ति व्यक्ति माबोहाङबाट यस्तो कार्य हुनु अशोभनीय भएकाले नगरपालिकाका कर्मचारीको पूर्ण सुरक्षाको प्रत्याभूति नभइञ्जेल कार्यालय बन्द रहने जनाएको कार्यकारी अधिकृत खतिवडाले बताउनुभयो ।

यता काँग्रेस नगर समितिसहित सङ्घीय लिम्बूवान मञ्च नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार संयुक्तरुपमा विज्ञप्ति निकालेर मङ्गलबारको घटनालाई नगरपालिकाले गलत ढङ्गबाट व्याख्या गरी सेवा प्रवाह अवरुद्ध बनाएकामा आपत्ति जनाएका छन् ।

नगरपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा सुचारु हुनुपर्ने माग गर्दै तीनवटै दलले नगरपालिका समक्ष १० बुँदे माग पनि राखेका छन् । ती दलले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा नगरपालिकाले पछिल्लो समय नियुक्त गरेका कर्मचारी हटाउनु पर्ने, नगरपालिका कार्यालय आफ्नो भवनमा सार्नुपर्ने, एकीकृत सम्पत्ति कर पुनरावलोकन गरिनुपर्ने, फोहरको व्यवस्थापन हुनुपर्ने, गत आर्थिक वर्षको योजना तथा खर्च विवरण सार्वजनिक गर्नुपर्नेलगायत माग राखेका हुन् ।

विज्ञप्तिमा पाँच दिनभित्र उक्त माग पूरा गर्न बेवास्ता गरे चरणबद्ध आन्दोलनमा उत्रिने दलले चेतावनी समेत दिएका छन् भने नगरसभापति मावोहाङले आफूहरु नगरपालिकामा छलफलका लागि मात्र आएको तर कर्मचारीले गलत आरोप लगाएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर