Aamsanchar

लोकमान नियुक्तिविरुद्धको मुद्दामा जारी सुनुवाइ आइतबार पनि

Author Image
शनिवार, पौष २३, २०७३

काठमाडौं।
lokman

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा बहस हुँदै आएको सो मुद्दामा शुक्रबार कार्की पक्षका कानुनी व्यवसायीले बहस गरेका हुन् ।

कार्कीका पक्षबाट वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, कृष्ण सापकोटा, अधिवक्ता दीपेन्द्र झा, आनन्दमणि लम्सालले बहस गरे । कार्की नियुक्तिविरुद्धको पुनरावलोकनमा कुनैपनि नयाँ प्रमाण र आधार नभएको साथै उच्चनैतिक चरित्र मापन गर्ने आधारसमेत नभएको तर्क उनीहरुले प्रस्तुत् गरेका थिए ।

बहस शुक्रबार पनि नसकिएकाले ‘हेर्दाहेर्दै’ मा आगामी आइतबारका लागि तोकिएको छ । कार्कीका पक्षबाट यसअघि वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता बाबुराम दाहाल, महादेव यादव, कुमार रेग्मी र सुरेन्द्र महतोले बहस गरेका थिए ।

कार्कीको नियुक्ति र योग्यताविरुद्धका सम्बन्धमा यही पुस ७ गतेबाट सुरु भएको बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।

प्रमुख राजनीतिक दलको समझदारीमा २०६९ फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश खिलराज नेतृत्वको चुनावी मन्त्रिपरिषद गठन गरिएको थियो । सोही समझदारीमा राजनीतिक समस्या समाधान गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेता सहभागी राजनीतिक संयन्त्र गठन गरिएको थियो ।

२०६९ चैत ३ गते बसेको संयन्त्रको सिफारिसअनुसार संवैधानिक परिषद्ले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्तिका लागि मार्गप्रशस्त गरेको थियो । उक्त नियुक्ति संविधानविपरीत भएको जिकिर गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट निवेदनमा सर्वोच्चले एक वर्षपछि उक्त निवेदन खारेज हुने फैसला गरेको थियो ।

फैसलामा चित्त नबुझेपछि अधिवक्ता अर्यालले पुनः सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए । सोही पुनरावलोकन निवेदनमा अहिले अन्तिम बहस भइरहेको छ । सो मुद्दाका सम्बन्धमा सर्वोच्च अदालतको म्याद तामेलीमा अवरोध पुर्‍याएको विषयमा पनि शुक्रबार सुनुवाइ भएको थियो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, वरिष्ठ अधिवक्ता यज्ञमूर्ति बञ्जाडे, अधिवक्ताहरु राजेन्द्र फुयाँल, पोषणराज लामिछाने, प्रकाश बस्नेतले बहस गरेका थिए ।

अदालतका कर्मचारीहरु कार्कीको घर बानेश्वर–१० मा म्याद तामेली गर्न जाँदा अवरोध पुर्‍याएका कार्कीसहित उनका ज्वाइँ प्रवल थापा, पूर्वकानुन सचिव प्रमोदकुमार कार्की, वडा नम्बर–१० का सचिव सरिता राई र भेषराज अर्याल, सही नहकुुलराज गौतमलाई अदालतको अवहेलनाअन्तर्गत् मुद्दा चलाइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर