दमक।

झापाको दमकका किसानले माटोको परीक्षण गराएका छन् । उनीहरुले परीक्षण गराएको १५५ वटा नमूनामा अम्लीयपना रहेको पाइएको छ ।

सेतुमारी कृषि सहकारी संस्था दमक १५ ले आयोजना गरेको निशुल्क माटो परीक्षणका क्रममा विभिन्न किसानका खेतको माटोमा धेरै अम्लीयपन पाइएको हो । किसानका खेतको माटोमा अम्लीयपन धेरै देखिएकोले यस्तो माटो बढी विषाक्त हुने, माटोमा भएको खाद्यतत्व बाली विरुवाले ग्रहण गर्न नसक्ने समस्या रहेको माटो परीक्षण प्रयोगशाला सुरुङ्गाका प्रमुख हरिबहादुर भुजेलले जानकारी दिए ।

माटोमा रहेको अम्लीयपन घटाउन पिएचको मात्रा बढाए मात्र किसानले सोचेअनुसारको उत्पादन गर्न सक्ने माटो विज्ञ भुजेलले सुनाए । त्यसका लागि कृषि चुन र बायोडिन हाल्नु पर्ने उनको सुझाव छ ।

माटोमा हुनुपर्ने नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा कमी भएको माटो प्राविधिकहरुले बताएका छन् । जिल्ला विकास समिति झापा र दमक नगरपालिकाको सहयोगमा भएको माटो परीक्षणमा दमकका २०९ किसानले माटो जाँच गराएको सेतुमारी कृषि सहकारी संस्थाले जनाएको छ ।
एक साता भित्र किसानको माटोमा देखिएका अम्लीयपना लगायतका सबै तत्वको परीक्षण प्रतिवेदन सहकारी संस्थालाई दिने प्रयोगशालाका प्राविधिक सीता खरेलले बताइन् । धेरै फलको आशा राखेर जहिले बाली लगाउने तर परिणाम शुन्य हुने अवस्थाबाट किसानलाई मुक्ति दिन उनीहरुका खेतको माटो ल्याएर परीक्षण गरेको सेतुमारी कृषि सहकारीका व्यवस्थापक दिपक खनालले बताए ।

