

बिर्तामोड ।

बिर्तामोड–२स्थित सहारा नेपालले गरिबी न्यूनीकरण तथा सामाज रुपान्तरणमा सरकारले पनि गर्न नसकेको काम गरेको एक कार्यक्रमका वक्ताले बताएका छन् । सहारा नेपाल गरीव र पछाडि पारिएकाहरुको जीवनको सहारा नै बनेको भन्दै उनीहरुले सरकार, राजनीतिक दल, स्थानीय प्रशासन तथा सरोकारवालाले उक्त संस्थाको अभियानमा साथ दिनुपर्नेमा जोड समेत दिए ।
बिर्तामोडमा शुक्रवार सहारा नेपालको २०औं साधारणसभा तथा नवौं अधिवेशन उद्घाटनपछि समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बरालले घरदैलोमा पुगेर सहारा जनताको प्रिय बनेको बताए । सामाजिक संस्था स्थापनाको ९० बर्षको इतिहासमा परिषद्मा ४४ हजार ६ सय संस्था रहेकोमा सहारा देशकै अग्रणी र उत्कृष्ट भएको उनले बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष भरतकुमार गिरीले बितेको २२ बर्षमा सहाराले ३४ जिल्लाका एक लाख ३० हजार परिवारमा सेवा पु¥याएको बताए । संस्थाको कूल पूँजी तीन करोड १५ लाख ७८ हजार ८ सय ७६ रुपैयाँ रहेको पनि अध्यक्ष गिरीले बताए । आर्थिक बर्ष ०७२÷०७३मा संस्थाको भौतिक सम्पत्तिको स्थिति दुई करोड १६ लाख ५४ हजार, दिगो कोष ६२ लाख १८ हजार, आम्दानी २ करोड ७८ लाख ९६ हजार र खर्च तीन करोड १८ लाख ४९ हजार रुपैयाँ भएको अध्यक्ष गिरीले बताए ।
संस्थाका सचिव महेन्द्रकुमार गिरीले संस्था स्थापनादेखि हालसम्म ५६ वटा परियोजना सञ्चालन गर्नुका साथै ५० करोड रुपैयाँको आर्थिक स्रोत परिचालन गरिएको जानकारी दिए । सचिव गिरीले सहाराले गरिबी न्यूनीकरण र दिगो जीविकोपार्जन, सशक्तीकरण, जनस्वास्थ्य, ऊर्जा र बातावरण, मानवअधिकार र सुशासन, मानवीय सहायता गरी ६ वटा क्षेत्रमा काम गरिरहेको जानकारी दिए । ‘सहाराले समाज परिवर्तनका लागि काम गरिरहेको छ, दिगो स्रोतको खोजी पनि गरिरहेका छौं’– सचिव गिरीले भने– ‘अबको पाँच बर्षमा कुनै दातृ संस्थाले सहयोग नगरे पनि सहारा नेपालले हाल गरिरहेका काम आफ्नै स्रोतबाट सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढेको छ ।’
समारोहमा अध्यक्ष गिरीले ५ करोड ३५ लाख ५७ हजार ५ सय २५ रुपैयाँको चालू बर्षको प्रस्तावित आय–व्ययको विवरण समेत प्रस्तुत गरे । सहारा नेपालले सञ्चालन गरिरहेका विभिन्न परियोजनाका लागि ९ वटा कार्यालयमार्फत ९५ जना कर्मचारीले सेवा दिइरहेको, ३८ वटा सहकारी÷सीवीओ रहेको, ९३ वटा महिला आदिवासी समूह रहेको, ४ वटा विभिन्न प्रकारका सञ्जाल, एउटा बाँसमा आधारित उद्योग, २६ वटा सचेतना केन्द्र र ३७ वटा जल उपभोक्ता संस्था रहेको पनि जानकारी दिइयो । सहारा नेपालले आईपीएम, टीवी रिच, बायो मास इनर्जी, एचआइभी र एसटीआई रोकथाम, झोलुङ्गे पुल निर्माण, सौर्य ऊर्जा, वीडीआरसीएन, बाँस उत्पादनमा प्रोत्साहन, साना सहरी खानेपानी, स्थानीय सुशासन र सामुदायिक विकास जस्ता परियोजना सञ्चालन गर्दै आएको छ । संवाद समूह झापालाई समेत कार्यालय व्यवस्थापन लगायतका प्राविधिक क्षेत्रमा सहारा नेपालले सहयोग पु¥याउँदै आएको छ ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा पुष्पाञ्जलि सिन्हालाई नगद ५ हजारसहित सम्मान गरिएको थियो । सहाराले सञ्चालन गरेको विभिन्न परियोजनाबाट लाभान्वित उपभोक्ता समिति र सहकारीहरुको तर्फबाट वीरबहादुर श्रेष्ठ, प्रमिला राई र डिकुरा घिमिरेले सहारा नेपाल आफ्नो जीवनको मात्र नभएर समाजकै सहारा भएको बताए । उक्त अवसरमा जिल्लाका विभिन्न ६ वटा विद्यालयलाई खेलकुद सामग्री प्रदान गरिएको थियो । संस्थाका उपाध्यक्ष सोमनाथ तिम्सिनाले स्वागत गरेको कार्यक्रमको सञ्चालन लक्ष्मी भण्डारी र पुष्पाञ्जलि सिन्हाले गरेका थिए । त्यस अवसरमा विभिन्न विद्यालयका तर्फबाट नृत्यका साथै क्षितिज नाट्य समूहले नाटक प्रस्तुत गरेका थिए ।

