Aamsanchar

बिर्तामोडमा विषादि परीक्षण प्रयोगशाला

Author Image
सोमवार, पौष २५, २०७३

(सुरेन्द्र भण्डारी)
बिर्तामोड।

madhumaha
अब मेची अञ्चलवासीले विषाक्त तरकारी खानु नपर्ने भएको छ ।कृषि विकास मन्त्रालय मातहतको बाली विकास निर्देशनालयले मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र झापाको बिर्तामोडस्थित कृषि उपज थोक वजारमा विषादि अवशेष द्रुत विश्लेषण परीक्षण प्रयोगशाला सञ्चालन ल्याउन लागेसंगै मेची अञ्चलवासीले विषाक्त तरकारी खानु नपर्ने भएको हो ।

प्रयोगशाला माघ महिनाबाट सञ्चालनमा आउन लागेको एकीकृत नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सीपी कडरियाले बताए । उनले प्रयोगशाला निर्माणको ९० प्रतिशत काम सम्पन्न भइसकेको र यही महिना भित्र निर्माणकार्य सम्पन्न गरी माघको पहिलोसाता कर्मचारीलाई तालिमको व्यवस्था गरिने बताए । त्यस्तै कर्मचारीलाई तालिमपछि स्थानीय स्तरमा सरोकारवालासंग सर्वपक्षीय छलफल गरी प्रयोगशालाको उद्घाटन गर्ने कार्यक्रम रहेको कडरियाले बताए ।
प्रयोगशालाको उद्घाटन कृषि मन्त्री,कृषि राज्य मन्त्री र वाली संरक्षण निर्देशनालयका प्रमुखको आतिथ्यमा गरिने बताइएको छ । पूर्वाञ्चलका लागि स्थापना गरिएको उक्त प्रयोगशाला सञ्चालनमा आएपछि मेची अञ्चलसहित पूर्वाञ्चलवासीले स्वाच्छ र विषादि रहित तरकारी प्रयोग गर्ने कडरियाले बताए । कार्यालयमा एक अधिकृत सहित दुई प्राविधिक सहायक र एक कार्यलय सहायक रहने छन् ।
कृषि विकास मन्त्रालय मातहतको बाली विकास निर्देशनालयले पूर्वाञ्चलको बिर्तामोडसहित मध्यमाञ्चलको लालवन्दीस्थित सिराह, पश्चिमाञ्चलको वुटवल, मध्यपश्चिमाञ्चलको पोखरा र सूदुरपश्चिमाञ्चलको धनगढीमा विषादि परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको हो । वीस लाख रुपैयाँको लागतमा प्रत्येक ठाउँमा प्रयोगशाला निर्माण भइरहेको वाली विकास निर्देशनालयका डिल्लीराज शर्माले बताए ।
उनले २५ प्रतिशत विषादि भए तरकारी प्रयोग गर्न सकिने, २०देखि ३५ प्रतिशतसम्म विषादि भए केही समयसम्म राखेर प्रयोग गर्न सकिने ३५ देखि ४५ प्रतिशतसम्म विषादि भए क्वारेन्टाइनमा केही समयसम्म राखेर पुन परीक्षण गरेर प्रयोग गर्न सकिने तर ४५ प्रतिशत भन्दा माथि विषादिको मात्रा भए उक्त तरकारी या फलफूल नष्ट गर्ने बताए ।

यसअघि काठमाडौंको कालिमाटीमा तीनवर्ष अघिबाट उक्त प्रयोगशाला सञ्चालनमा रहेको छ ।
बिर्तामोडमा निर्माणाधीन अवस्थामा रहेको प्रयोगशाला तत्कालीन कृषि मन्त्री हरिवोल गजुरेलका स्वकीय सचिव रमेश गुरागाईको सक्रियता र तत्कालीन जिल्ला कृषि विकास कार्यालय झापामा प्रमुख मेघनाथ तिमल्सिना, माओवादी नेता कडरिया सहितको पहलमा बिर्तामोडमा स्थापना गरिएको हो ।

बिर्तामोडमा निर्माणाधीन प्रयोगशालामा हाल फन हुड, फ्रिज, डि फ्रिज,स्पेक्टो फोटोमिटर, कम्प्युटर, पन्टर , एसी लगायतका उपकरण जडान भइरहेको जिल्ला कृषि विकास कार्यालय झापाका वाली संरक्षण अधिकृत राजेन्द्रप्रसाद खरेलले बताउनुभयो ।
कालीमाटीमा प्रयोगशाला स्थापना भएपछि उच्च विषादि प्रयोग भएका तरकारी उपत्यकाबाहिर विक्री–वितरण हुन थालेपछि सरकारले सातवटै प्रदेशमा तरकारीको विषादि परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने तयारी गरेको हो ।
तरकारीको आयात, निर्यात र उत्पादन हुने मुख्य बजारलाई केन्द्रमा राखेर विषादि परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।
प्रयोगशाला सञ्चालनमा आएपछि मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने विषादि प्रयोगको मात्रामा कमी आउने निश्चित भएसंगै सर्वसाधारणमा खुशीयाली छाएको छ ।
उत्पादन बढी गर्ने मनसायले तरकारी तथा फलफूलमा विषादि अत्यधिक मात्रामा प्रयोग गर्ने प्रवृत्ति किसानमा बढ्दो छ । तरकारीमा विषादिको मात्रा बढेको गुनासा उपभोक्ताबाट दैनिक रूपमा आउन थालेपछि सात प्रदेशकै मुख्यमुख्य बजारमा रहने गरी विषादि परीक्षण केन्द्र देशभर एकैसाथ सञ्चालमा आउन लागेका हुन् ।

विषादिको आयात भने बढ्दो
आर्थिक वर्ष २०६९–०७० मा तीन सय ४५ मेट्रिक टन विषादि नेपाल भित्रिएको थियो । आर्थिक वर्ष २०७०–०७१ मा त्यो बढेर चार सय १० मेट्रिक टन पुग्यो । आर्थिक वर्ष २०७१–०७२ मा विषादि आयात ४४ मेट्रिक टनले बढेर चार सय ५४ दशमलब ६ मेट्रिक टन पुगेको विषादि पञ्जिकरण तथा व्यवस्थापन शाखाको तथ्यांकले देखाउँछ ।

तथ्यांक हेर्ने हो भने वर्षेनी विषदि आयात बढिरहेकै छ । २०५३–०५४ मा नेपालमा पाँच अर्ब १० करोड रुपैयाँ बराबरको विषादि आयात भएको थियो । २०६९–०७० मा आइपुग्दा ३७ अर्ब रुपैयाँ भन्दा बढीको विषादि नेपाल भित्रिएको अध्ययनले देखाउँछ ।

नेपालमा एक सय ४७ प्रकारका विषादि भित्रिने गरेका छन् । तीमध्ये १५ प्रकारका विषादिलाई नेपालमा प्रतिबन्धको सूचीमा राखिएको छ । अप्रत्यक्ष माध्यमबाट प्रतिबन्धित विषादि पनि भित्रिरहेको अध्ययनले देखाउँछ। उत्पादन बढाउन किसानले प्रतिबन्धित विषादिको प्रयोग गर्दै आएका छन्।

विषादि रोगको घर

विषादिबाट क्यान्सर जस्तो प्राणघातक रोग लाग्ने वैज्ञानिक अध्ययनले देखाइसकेको छ। ‘दि जर्नल अफ एग्रिकल्चर एन्ड इन्भायरोमेन्ट, भोल्युम १३, जुन २०१२’ मा उल्लखे भएअनुसार वीर अस्पतालमा गरिएको अध्ययनमा ६८ प्रतिशत बिरामीले ‘मिथाइल पाराथायन’ र २६ प्रतिशतले ‘डाइअल्ड्रिन विषादि’ सेवन गरेका थिए। मिथाइल पाराथायन सेवन गर्ने बिरामी सबैको मृत्यु भएको थियो।

यी दुवै विषादी नेपाल सरकारले प्रतिबन्ध लगाएको छ। त्यही जर्नलमा प्रकाशित एक लेखअनुसार विषादि प्रयोग गर्ने ५० प्रतिशत किसानले असुरक्षित रुपले पञ्जा नलगाई विषादी घोल्ने गर्छन्। सन् २०१२ मा भारत र नेपालमा गरिएको अध्ययनअनुसार विषादि प्रयोग गर्ने ३१ प्रतिशतले टाउको दुखेको, २७ प्रतिशतले आँखा चिलाएको, २४ प्रतिशतले छाला चिलाएको, १० प्रतिशतले पेटमा समस्या आई बान्ता हुने गरेको र ९ प्रतिशतले रिङ्गटा लाग्ने गरेको जनाएका थिए।
यस्ता तथ्याङ्कले विषादिबाट जनस्वास्थ्यमा प्रतिकुल असर परिरहेको स्पष्ट पारे पनि विषादिले स्वास्थ्यमा पार्ने असरबारे विस्तृत वैज्ञानिक अध्ययन अझै नभएको नेपाल अर्बुद रोग निवारण संस्थाका कार्यक्रम अधिकृत प्रतिक गुरुङले बताए। यस्तै, औषधि सम्बन्धी बहुराष्ट्रिय कम्पनीको प्रभावमा विषादिबाट जनस्वास्थ्यमा पर्ने प्रतिकुल असरबारे वैज्ञानिक अनुसन्धान हुन नसकेको उपभोक्ता अधिकारकर्मीहरुको दाबी छ।
मानव स्वास्थ्यका लागि ठूलो खतरा बनेको विषादि प्रयोगलाई निरुत्साहित गर्नुको साटो खुल्लमखुल्ला छोडिदिने सरकारी रबैयामा परिवर्तन नआएसम्म तरकारीमा बिषादि नियन्त्रण गर्न असम्भवप्राय देखिने गरेको छ ।

झापामा विषादि प्रयोगकर्ता घट्दै

झापामा वानस्पतीक विषादि,जीवाणुमा आधारित विषादि तथा नवीनतम वाली संरक्षणका प्रविधि अपनाएर कृषकले खेती गर्न शुरु गरेसंगै प्रत्येक वर्ष रासायनिक विषादिको प्रयोग घट्दै गएको छ ।

पछिल्लो समय झापामा कृषक र सरकारी स्तरबाटै अग्र्यानिक उत्पादनका लागि जोड दिँदै आइपीएम(एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति) प्रविधिबाट झापाली कृषकले चिया तथा तरकारी खेती गर्न थालेपछि विषादिको प्रयोग घटेको जिल्ला कृषि विकास कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।
जिल्ला कृषि विकास कार्यालय झापाका वाली संरक्षण अधिकृत खरेलका अनुसार झापाली कृषकले विषादिको सट्टा जैविक तथा वनस्पती विषादि उत्पादन गर्दै यसको प्रयोग गर्न थालेसंगै भारत तथा तेस्रो मुलुकबाट भित्रने विषादिमा कमी आएको छ । गत वर्ष भारत लगायत तेस्रो देशबाट ३० मेट्रिकटन विषदि झापा भित्रिएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।
बढ्दो विषादिको प्रयोगले श्वासप्रश्वास, आँखा, हातखुट्टा, छाला र गुप्ताङ्ग लगायत मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न थालेसंगै यहाँका कृषकले वनस्पती जन्य विषादि प्रयोग गर्न सुरु गरेका छन् –जिल्ला कृषि विकास कार्यालय झापाका वालि संरक्षण अधिकृत खरेलले भन्नुभयो ।
किटनासक,ढुसीनासक लगायत झोल र धुलो विषादि सबैभन्दा बढी भारतबाट कृषकले चिया तथा तरकारी खेतीका लागि ल्याउने गरेका थिए तर अहिले त्यो अवस्था छैन– विषादि निरीक्षक समेत रहनुभएका खरेलले भन्नुभयो – ‘झापाका कृषकले आइपीएम प्रविधिबाट चिया तथा तरकारी खेतीगर्न थालेपछि विषादिको प्रयोगमा कमी आएको हो ।’
भारत सरकारले अधिकतम विषादिको अवशेसको स्तर निर्धारण गरेसंगै झापाका पनि धेरै कृषकले आइपीएम पद्धतिबाट चिया तथा तरकारी खेती गरिरहेका छन् ।
महेशपुरको पराजुली टि स्टेट,जलथल – ४ र हल्दिवारी –३ मा आइपीएम प्रविधिबाट चिया खेती गर्न तालिम प्रदान गरेसंगै धेरैजसो यहाँका चिया कृषकले पनि रासायनिक विषादि प्रयोग गर्न छाडेको बताइन्छ ।
चियामा अग्र्यानिक प्रमाणीकरणका लागि सरकारले समेत ५० प्रतिशत रकम अनुदान दिने भनेपछि सुरेन्द्रनगर सानाकिसान चिया सहकारी संस्था वाहुँनडागी , तारखी साना किसान सहकारी संस्था आँपडाँगी र पथरीयामा रहेको चिया वगानले अग्र्या्निक चिया खेती गरिहेको चिया तथा कफी विकास वोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार मेचीनगर नगरपालिका , जलथल लगायतका स्थानमा रहेका वगानमा पनि एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति अनुसार चिया खेती गर्न सुरु गरिएको छ । यता तरकारी खेतीमा पनि कृषकले रासायनिक विषदि प्रयोग गर्न छाडेपछि यसको प्रयोगमा कमी आएको छ ।
व्यवसायिक तरकारी खेतीमा लागेका कृषकले एकैपटक विषादि प्रयोग कम गर्न नसक्ने जनाउँदै क्रमिक रुपमा विषादिको मात्रा घटाउँदै लान सल्लाह दिने कार्य भइरहेको जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख तिम्सिनाले बताउनुभयो । तिम्सिनाका अनुसार झापाको तोपगाछी– ८ र ९ नम्वर वडालाई आइपीएम भिलेज घोषणा समेत गरिएको छ । जहाँका कृषकले आएपीएम(एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति)अपनाएर रासायनिक विषादि रहित तरकारी उत्पादन गर्दै आइरहेका छन् ।
अझैंपनि झापाका धेरै कृषकले पूर्ण रुपमा विषादिको दीर्घकालीन असरको वारेमा जानकारी नपाएका कारण यसको प्रयोग पूर्ण रुपमा घट्न नसकेको रखेलले बताए । विषादि ऐन २०४८ अनुसार नेपालमा प्रतिबन्धित १६ प्रकारका विषादि आयात,खरिद – विक्री र प्रयोग गर्न नपाइने भएपनि छिटफूट रुपमा झापामा त्यस्ता विषादि कृषकले अझैंपनि प्रयोग गर्ने गरेको सरोकारवालाहरुले बताएका छन् । तर, जिल्ला कृषि विकास कार्यालय झापाले भने प्रतिवन्धित विषादि विक्री वितरणमा पूर्ण रुपमा रोक लगाएको जनाएको छ ।

विषादिबाट स्वास्थ्यमा पर्ने असर र रोगहरु
१. क्यान्सर
२. जिन म्युटेसन
३. गर्भवती महिलाको बच्चालाई घातक
४. प्रजनन अंगमा असर
५. स्नायु प्रणालीमा असर
६. छालाको एलर्जी ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर