Aamsanchar

एक वर्षमा ५१ देशका ३ सय ३९ नागरिक नेपालबाट निष्कासित

Author Image
शुक्रवार, पौष २९, २०७३

काठमाडौं ।
neskasaseta

नेपाल आएका ५१ देशका ३ सय ३९ नागरिक एक वर्षमा निष्कासित गरिएका छन् ।

अध्यागमनसम्बन्धी अपराधमा २ सय ७७ तथा अन्य अपराधमा संलग्न ६२ विदेशीलाई अध्यागमन विभागले निष्कासन गरेको हो ।

गत वर्ष ३ सय २६ विदेशी नागरिक निष्कासनमा परेका थिए । सन् २०१६ मा निष्कासन भएकामा सबैभन्दा धेरै चीनका नागरिक छन् । चिनियाँपछि अमेरिकन, पाकिस्तानी, रसियन र बंगलादेशी धेरै छन् ।

चीनका १ सय २४, अमेरिकाका २९, बंगलादेशका १९, रसियाका १५ र पाकिस्तानका १४ नागरिक निष्कासनमा परेका छन् । त्यस्तै, बेलायतका १३, क्यानडाका १२, जर्मनीका १०, कोरिया र अस्ट्रेलियाका आठ–आठ, उज्वेकिस्तान, इटाली र इजरायलका ६–६ नागरिक निष्कासनमा परेका छन् ।

अध्यागमन विभागका अनुसार फ्रान्सका र स्विट्जरल्यान्डका पाँच–पाँच, नेदरल्यान्ड र डेनमार्कका चार–चार, पेरू र मलेसियाका तीन–तीन नागरिक निष्कासित भएका छन् । ताइवान, न्युजिल्यान्ड, पोर्चुगल, साउदी अरेबिया, पोल्यान्ड र इरानका दुई–दुई नागरिक निकालिएको विभागले जनाएको छ । श्रीलंका, टर्की, युक्रेन, केन्या, बुल्गेरिया, बहराइन, अस्ट्रिया, जापान, इन्डोनेसिया, आइभोरीकोस्ट, स्लोभाकिया, इजिप्ट, भुटान, क्रोएसिया, ट्युनिसिया, सिंगापुर, तान्जानिया, चेक रिपब्लिक, थाइल्यान्ड, माली, स्पेन, लेबनान, फिनल्यान्ड र मेक्सिकोका एक–एकजना नागरिक नेपालबाट निष्कासनमा परेको अध्यागमनले जनाएको छ ।

अध्यागमनसम्बन्धी अपराध (ओभरस्टे)मा बस्नेहरूलाई दैनिक पाँच डलरका दरले भिसा शुल्क तथा दैनिक दुई सय रुपैयाँका दरले जरिवाना असुलेर अध्यागमन विभागले निष्कासन गर्छ । ५/६ वर्षसम्म अवैध रूपमा बस्दै आएका विदेशीसमेत पक्राउ परेको र जरिवाना गरेर निष्कासन गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार ओभरस्टेमा संलग्नलाई एक वर्ष र अन्य अपराधमा संलग्नलाई १० वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन गरिएको छ ।

सस्तो देश भएकाले कतिपय विदेशी नागरिक लुकेर नेपालमा बस्ने गरेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने बताउँछन् । धेरै देशका नागरिकलाई अनअराइभल भिसा दिने भएकाले पनि आपराधिक गतिविधिमा संलग्न विदेशीहरू लुक्न नेपाल आउने गरेको प्रहरी अधिकारी बताउँछन् । –नयाँ पत्रिका दैनिकबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर