Aamsanchar

आज मकर संक्रान्ति, थारु समुदायमा माघीको उल्लास

Author Image
शुक्रवार, पौष २९, २०७३

काठमाडौं ।tharuwoma

माघे संक्रान्ति नेपालको एक प्रमुख चाड हो। यो पर्वलाइ मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । यो माघ महिनाको पहिलो दिन पर्दछ। यस दिन नेपालमा सार्वजनिक विदा दिइन्छ।

यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।

ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो। सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि(साउने संक्रान्ति) र मकर राशि(माघे संक्रान्ति)प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ| यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

माघे/मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै विशेष गरी वनतरुल, सखरखन्न(सुठुनी), खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ ।

यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गासागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ। भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ।

मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने-भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राहृमण आ-आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन्। महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन्। शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ।

थारु समुदायमा माघि पर्व सुरु
माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ। यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी (माघी) खाने चलन छ। माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन घर घरमा सुँगुर काट्ने चलन छ, जसलाई ‘जिता मरना दिन’ भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी -पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँड-रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ ।

यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा गाइने गीतलाई ‘धमार’ भनिन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकपि्रय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजीकैको खोलानालामा नुहाउन जाने चलन छ । यसलाई ‘माघ लहान’ भन्ने गरिन्छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ । माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ । यो दिनलाई ‘खिचरहवा’ भनिन्छ ।

प्रत्येक वर्षको माघ १ गते मनाइने यो पर्वमा गएका वर्षभरिमा गरिएका कामको समीक्षा गरिनुका साथै आगामी वर्षभरि गरिने कामको विषयमा छलफल र बाँडफाँड गर्ने गरिन्छ । आजको दिन विभिन्न किसिमका परिकार बनाई आफ्ना दिदीबहिनीलाई निश्राउ अर्थात् कोसेली दिने चलन रहेको छ । कोसेलीमा चामल, नुन, दाल, ढिक्री, अनदीको भात, माछा, मासु, लत्ताकपडालगायतका सामान रहेको हुन्छ ।

वाह भएर गएका दिदीबहिनीलाई घरमा बोलाउने घरमा आउन नसकेको अवस्थामा बहिनीकै घरमा गएर सो कोसेली सँगसँगै आफूले सक्ने जति दक्षिणा दिने गरिन्छ । साथै यो पर्वको अवसरमा गाउँमा नयाँ अगुवा अर्थात् वडघर चुन्ने समेत गरिन्छ ।

Views: 148

प्रतिक्रिया (०)