Aamsanchar

झापामा तरुलको कारोबार बढ्यो

Author Image
शुक्रवार, पौष २९, २०७३

(नरेन्द्र ढकाल)
झापा।maaaa

पछिल्लो समय झापामा तरुलको कारोबार बढ्दै गएको छ । तरुल मानिसका लागी फाइदा जनक हुने कुरा बुझदै गएपछि यसको कारोबार समेत बढदै गएको विर्तामोडस्थित कृषि थोक बजारकी तथ्याङ्क सहायक मायादेवी राजवंशीले बताइन् ।
उनका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ९६ मेट्रिकन तरुलको कारोबार भएको छ । अल्लिो वर्षको सोही अवधिमा ८९ मेट्रिकटन तरुलको कारोबार भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । माघेसंक्रान्तिको आसपासमा झापाका बजारहरुमा घर तथा वन तरुलका साथै इस्कुसको जराको कारोबार पनि बढेको छ । संक्रान्तिमा तरुलसँगै इस्कुसको जरा पनि उसिनेर खाने चलन भएकाले कारोबार बढेको विर्तामोडस्थित कृषि थोक बजारकी तथ्याङ्क सहायक राजवंशीले बताइन् ।
उनका अनुसार मंसिर र पुस महिनामा मात्रै ६२ मेट्रिकटन तरुलको कारोबार भएको छ । अल्लिो आर्थिक वर्षको सोही अवधिमा पनि ६२ मेट्रिकटन नै तरुलको कारोबार भएको थियो । इस्कुसको जरा किलोमा ५० देखि ६० रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ भने सुठुनी प्रति किलो २० देखि २५ रुपैंयाँ, घर तरुल ३५ देखि ४० रुपैंयाँप्रति किलोमा विक्री गर्ने गरेको कृषि थोकको तथ्याङ्कमा उल्लेख गरिएको छ । तर ब्यापारीहरुले खुद्रा मूल्यमा तरुल ७० दे ि९० रुपैंयाँ सम्ममा विक्री गरिरहेको राजवंशीले बताइन् । ब्यपारीहरुले वन तरुल भने महांगो मुल्यमा बिक्रि वितरण गरिरहेको पाइएको छ । ब्यपारीहरुले वन तरुल चार सय रुपैंया सम्ममा बिक्रि गरिरहेको उपभोक्ताहरुले बताएका छन् ।
तथ्याङ्क सहायक राजवंशीका अनुसार सुठुनी झापाको दक्षिणी घेराबारी, राजगढ, चकचकी लगायतका गाविसदेखि आउने गरेको छ । विगतका वर्षहरुमा तरुल भारतबाट समेत आयात हुने गरेकोमा यस वर्षे भारतबाट तरुल नआएको उनको भनाइ छ । झापाका बजारहरुमा इलाम, पाँचथर तथा ताप्लेजुङ लगायतका जिल्लाहरुबाट समेत तरुल आयात हुने गरेको बताइएको छ ।
इलामबाट मात्रै यस वर्ष ४० मेट्रिकटन तरुल आयत भएको राजवंशीको भनाई छ । माग बढेकाले बजारमा तरुल र आलु पनि धेरै भित्रिन थालेको बताइएको छ । त्यस्तै पिँडालु ,फर्सी लगायतको समेत कारोबार बढेको विर्तामोडकी स्थानीय ब्यापारी उर्मिला कोइरालले बताइन् । चिसो र माघे संक्रान्ति पर्वले तरकारी बजारमा तरुलको कारोबार बढेको हो । माग अनुसारको तरुल आयात भएकाले यसको अभाव नहुने र भाउ नबढ्ने ब्यपारीहरुको भनाइ छ । कृषि थोक विर्तामोडबाट ४÷५ मेट्रिक टन तरुलको खरिद विक्री हुने गरेको राजवंशीले जानकारी दिइन् ।

माघे संक्रान्तिमा तरुल उसिनेर र पकाएर खाने चलन छ । जाडोमा तरुललाई गेडागुडीसित मिसाएर झोल बनाएर खान सकिने भएकाले पनि यसको कारोबार बढेको बिक्रेताले बताएका छन् । झापाका प्रमुख शहरहरु बिर्तामोड, काँंकरभिट्टा, धुलाबारी, दमक, सुरुङ्गा, चन्द्रगढी, भद्रपुर, शनिश्चरे, झिलझिले लगायतका स्थानमा तरुलको ब्यापार बढेको व्यापारीको भनाइ छ ।
मकर संक्रान्तिमा कन्दमुल खानुपर्ने प्रचलन रहेकाले पनि यस समयमा तरुलको कारोबार बढेको हो । माघे संक्रान्तिको समयमा मात्र तरुल बिक्री गरेर २० हजारभन्दा बढी आम्दानी लिने गरेको विर्तामोडका स्थानीय व्यापारी चन्द्रबहादुर राईले बताए । मकर संक्रान्तिमा झापाको कनकाई माईमा मेला लाग्ने भएकाले पनि झापाका अधिकांश मानिस उक्त मेलामा सहभागी हुने र मकर संक्रान्तिमा तरुल नै खानुपर्ने प्रचलन रहेकाले तरुलको ब्यापार झापामा उल्लेख्य मात्रामा हुने गरेको छ ।
माघे संक्रान्तिलाई घिउ, चाकू, तरुल र खिचडीको पर्व भनिने गरिएकाले समेत यो समयमा बढी मात्रामा कन्दमुल विक्री हुने गरेको ब्यपारीहरुको भनाइ छ । माघे संक्रान्ति सबैजसो समुदायले मनाउन थालेकाले चाकू र तरुलको व्यापार बर्सेनि बढ्दै गएको सम्बद्ध व्यवसायी बताउँछन् । यो चाड जाडो याममा पर्ने भएकाले चिसोबाट बच्नसमेत चाकू खाने गरेको पाइन्छ ।
निकै स्वादिष्ट कन्दमुलको रुपमा रहेको तरुलले हाम्रो स्वास्थ्यमा पार्ने फाइदाका बारेमा कमै मानिसलाई जानकारी छ । तरुलमा फाइबर, भिटामिन सी, भिटामिन बी सिक्स, भिटामिन बि वान, फोलिक एसिडका अलावा पोटासियम, आइरन, क्याल्सियम, म्याग्नेसियम तथा फोस्फोरस जस्ता पोषक तत्वहरु पर्याप्त मात्रामा पाइने गरेको चिकित्सकहरुको भनाई छ । तरुलको नियमित सेवनले बाथ रोग भएका व्यक्तिहरुलाई निकै फाइदा पुग्ने डाक्टरहरुले बताएका छन् ।

Views: 94

प्रतिक्रिया (०)