युएई,

युएईमा कम्पनीले सहयोग नगरेपछि जीवनको उपचारमा नेपालीले नै आर्थिक सहयोग जुटाएका छन् । सारजाहमा सडक दुर्घटनामा गम्भिर घाइते भएका सुरुङ्गा ३ झापाका जीवन रानाको उपचारमा युएईमा रहेका संघसस्थाले रकम जुटाएर हुन् ।

जीवनकै गृह जिल्ला झापाली समाज युएईले बिहिबार ८ हजार ४० दिहराम सहयोग गरेको छ । अभियान टोलीलाई अस्पतालमै पुगेर रकम बुझाएको हो । यस अघि पनि समाजले ४ हजार १ सय १० दिहराम सहयोग गरेको थियो ।

एनआरएन युएईले ४ हजार ५ सय दिहराम सहयोग गरेको छ । अन्य संघसंस्थाले पनि सहयोग गरेको र सहयोग रकम आइतबारसम्ममा सार्वजानिक गर्ने अभियानका संयोजक रमेश श्रेष्ठले जानकारी दिनुभयो ।

रसअलखेमामा रहेको रोटाना सेक्युरिटी कम्पनी मार्फत सारजाहको अन्सार मल नजिकैको अग्लो टावरमा चौकिदारी गर्ने उहाँलाई गाडीले ठक्कर दिएर भागेको थियो ।
एनआरएन युएईको अग्रसरतामा यहाँ रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधि सहभागी सहयोग संकलन समिति कै सहयोगमा अप्रेशन गरिएको छ । उहाँको पिठ्युको हड्डी, ढाडको हड्डी र हात खुट्टा भाँचिएका छन् । अस्पतालले उपचारमा सात देखी दश लाख रुपैयाँ लाग्ने बताएपछि रकम जुटाउन यहाँका संघ सस्था लागि परेका हुन् ।
रानाको फुजेराहमा रहेको रशिद अस्पतालमा उपचार हुँदै छ । नेपाली दुतावासले कम्पनीसँग कुरा गरेपछि कम्पनीले केही सहयोग गर्ने बताएको श्रेष्ठले जानकारी दिनुभयो । जीवनको नाममा सहयोग रकम उठाउने काम रोक्न र अहिले सम्म उठेको रकम अभियानलाई बुझाउन अनुरोध गरिएको छ ।उमाकान्त पाण्डे/उज्यालो ।

