काठमाडौं,
राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरीको विवाह समारोहमा निम्तो मान्न शीतल निवास पुगेका पूर्व राजा ज्ञानेन्द्रले पूर्व पञ्चहरुसँग केहीबेर भलाकुसारी गर्नुभएको छ ।
पहिलोपटक शीतल निवास पुगेका ज्ञानेन्द्रले पूर्व राप्रपाका अध्यक्ष कमल थापा र पशुपति शमशेर राणा, पूर्व प्रधानसेनापति प्यारजंग थापा, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, सांसद गणेश थापासँग एउटै टेबलमा बसेर कुराकानी गर्नुभएको हो । राष्ट्रपति भण्डारीलाई अभिवादन र बेहुलाबेहुलीलाई पुष्पगुच्छा दिएपछि ज्ञानेन्द्र केहीबेर शीतल निवास बस्नुभयो । राष्ट्रपतिसँग भने उहाँको कुराकानी भएन ।
बा ४ च ३८०७ नम्बरको गाडीमा उहाँ दिउँसो १२ बजेर ३५ मिनेट जाँदा शीतल निवास प्रवेश गर्नुभएको थियो । उहाँ लगभग २० मिनेट शीतल निवासमा बसेर निस्कनुभएको थियो ।
गणतन्त्र घोषणाको ८ वर्षपछि ज्ञानेन्द्रले पहिलोपटक शीतल निवास प्रवेश गर्नुभएको हो । राष्ट्रपति आफैंले निम्ता गरेपछि ज्ञानेन्द्रले सहजै स्वीकार गरेको निर्मल स्रोतले बताएको छ ।
विवाहमा सहभागी हुन तथा शुभाकामना दिनका लागि विभिन्न दलका नेता, राजदूत, कुटनीतिक नियोगका प्रमुख, साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्ति पुगेका छन् । नेकपा एमालेका नेता माधव नेपाल, कांग्रस नेता रामचन्द्र पौडेल, राप्रपाका अध्यक्ष कमल थापासहितका नेताले शीतल निवास पुगेर शुभकामना दिएका छन् । यस्तै लोकेन्द्रबहादुर चन्द, मोदनाथ प्रश्रित, प्रदिप नेपाल, मुकुन्द नेउपाने, प्रदिप ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ, विष्णु रिमाल, विन्दा पाण्डे, शान्ता मानवीसहितका नेताले पनि शीतल निवास गएर बधाई तथा शुभकामना दिएका छन् ।
तस्बिर : पत्रकार किशोर श्रेष्ठको फेसबुक