Aamsanchar

एक्लै केही गर्न सकिन–ट्राफिक प्रहरी प्रमुख गिरी

Author Image
बिहिवार, माघ ६, २०७३

बिर्तामोड।Birtamode_city_of_jhapa_district2

झापामा पनि ट्राफिक जाम हुन्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर, यो सत्य हो कि झापाको बिर्तामोडमा ट्राफिक जाम हुन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख ढुण्डीराज गिरीले बिर्तामोडका विभिन्न ठाउँमा ट्राफिक जाम हुने गरेको बताएका छन् ।
मेची अञ्चलकै व्यस्त शहरको रुपमा विकास हँुदै गएको बिर्तामोडमा सडक संरचना नबढ्दा ट्राफिक जाम हुने गरेको छ ।  पूर्वकै ठूलो शहरको रुपमा रहेको सुनसरीको इटहरीमा ट्राफिक जाम नहुने तर विर्तामोडमा ट्राफिक जाम हुनुको मुख्यकारण भनेको सडक साँघुरो हुनु नै रहेको ट्राफिक प्रहरी निरीक्षक गिरी बताउँछन् । उनले ६ महिनाको आफ्नो उपलब्धी र चुनौति सार्वजनिक गर्दा बिर्तामोडको सडकलाई फराकिलो बनाउन तथा मुक्ति चोक (आइल्याण्ड) लाई सानो बनाउन राजनीतिक दल तथा सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएका थिए ।

१५ दिनभित्र सुधारको काम गर्ने लिखित प्रतिबद्धता जाहेर गर्ने राजनीतिक दलका स्थानीय नेता, नगरपालिकाका कर्मचारी, सडक विभागका कर्मचारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले कानमा तेल हालेर बस्दा बिर्तामोडको ट्राफिक अवस्था भद्रगोल हुँदै गएको छ ।
ट्राफिक व्यवस्थापन गर्न आफू दिनरात खटे पनि एक्लैले केही गर्न नसक्ने आवस्थामा पुगेको गिरीले बताए । उनले अन्धुवा खोलाको ट्राफिक जामलाई हटाउन सामाजिक अगुवाहरुलाई अभिप्रेरित गरेपछि उत्तर र दक्षिणमा पुल समेत निर्माण भएको छ । धेरैले पुलको प्रयोग गरे पनि केहीले अझै पुलको प्रयोग गरेको पाइँदैन । पुलको प्रयोग नगर्नेमा शिक्षित व्यक्ति नै धेरै हुने गरेको स्थानीय बताउँछन् ।
पुलको समस्या त जसोतसो हटे पनि मुक्ति चोक (आइल्याण्ड)को समस्या ट्राफिक जामको प्रमुख कारक बनेको गिरीले बताए । उनका अनुसार १६ चक्के सवारीलाई बिर्तामोडको आइल्याण्ड घुम्नका लागि दुई मिनेट भन्दा धेरै समय लाग्ने गरेको र उक्त समयमा बिर्तामोडको ‘वान वे’ सडकमा मात्रै २० वटा सवारी जाममा पर्ने गरेका छन् । उक्त अवधिमा चारैतिरका हिसाब गर्ने हो भने ८० भन्दाबढी सवारी जाममा पर्ने गरेका छन् । यसको मुख्य कारण भनेको आइल्याण्डको एरिया ठूलो हुनु नै रहेको ट्राफिक प्रहरी निरीक्षक गिरी बताउँछन् ।
उनका अनुसार ट्राफिक जाम सुचारु गर्न आइल्याण्ड क्षेत्रमा मात्रै ९ जना ट्राफिक प्रहरी खटिनु परेको छ । यसको मुख्य कारण भनेको आइल्याण्डबाट सबै तिर देख्न नसक्नु नै रहेको गिरीको भनाइ छ । राजधानीमा जस्ता आइल्याण्ड कि त सडक बिस्तार नै ट्राफिक जाम हटाउने एक उपाय रहेको ट्राफिक प्रहरीले बताएका छन् । एक जना ट्राफिकले पनि जाम हटाउन सक्ने विषयमा झापाका राजनीतिक दलका नेताहरुलाई जानकारी गराइ सकेको तर उनीहरुले यो विषयमा ध्यान नदिएको बताए ।
यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र सामाजिक युवा समाज (एसवाईएस) को सहकार्यमा बिर्तामोड स्थित कृषि थोकबजारभित्र प्रत्येक बुधबार मोटरसाइकल बाहेकका सवारी साधनलाई प्रवेशलाई निषेध गरेको छ । बुधबार हटिया भएकाले उक्त दिन सवारी चापलाई मध्यजनर गर्दै उक्त काम शुरु गरेको प्रनि गिरीले बताए । उनले नगरपालिकाले चासो नदिए पनि सडक किनारमा व्यापार गर्नेहरुलाई समेत आफैंले हटाएको उल्लेख गरेका छन् ।
यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चालू आर्थिक वर्षको ६ महिनामा एक करोड ३१ लाख ३४ हजार रुपैंयाँ राजश्व संकलन गरेको छ । २२ हजार दुई सय सवारीलाई कारबाही गर्दा उक्त राजश्व संकलन गरेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।
उनका अनुसार ६ महिनाको अवधिमा सडक दुर्घटनाबाट ४६ जनाको मृत्यु भएको छ । एक सय वटा सवारी दुर्घटना हुँदा उनीहरुको ज्यान गएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा धेरै सवारी दुर्घटनामा मोटरसाइकल पर्ने र मोटरसाइकलले नै सवारी नियम समेत उल्लंघन गर्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ । सवारीको चाप दिनानुदिन बढ्नु तर सडक विस्तारमा ध्यान नदिनु नै सवारी दुर्घटनामा मुख्य कारण बन्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
चालूआर्थिक वर्षको मंसीर महिनामा १९ वटा सवारी दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाउनु परेको छ । मंसीर महिना वनभोज तथा विवाहको सिजन भएकाले धेरै सवारीहरु दुर्घटनामा परेको गिरीले बताए । त्यस्तै चिसो मौसम शुरु भएसँगै मादकपदार्थ सेवन गर्नेहरुको संख्यामा समेत बृद्धि भएको छ । पुस महिनामा मात्रै १५५ वटा सवारी मापसे कारबाहीमा परेको प्रहरीको तथ्याङ्कमा छ ।

हालसम्म एकै व्यक्ति तीन पटकसम्म मापसे कारबाहीमा परेका छन् भने एक जना महिला मात्र मापसे कारबाहीमा परेको ट्राफिक प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

Views: 129

प्रतिक्रिया (०)