खुदुनाबारी,

खुदुनाबारी–२ सातकटेरीका मिर्गौला पीडित मदन बराल लाई बराल वंश प्रतिष्ठान कतार शाखाले आर्थिक सहयोग प्रदान गरेको छ ।

दुई वर्ष अगाडिदेखि मिर्गौलामा समस्या देखिएका कारण उपचार गराइरहेका बराललाई कतारमा कार्यरत पुकार बरालको संयोजनमा एक लाख एक हजार १ सय ११ रुपैयाँ उपचार सहयोग हस्तान्तरण गरिएको हो ।

बिर्तामोडमा आज सञ्चारकर्मी माझ सहयोग संकलक पुकारका बुबा दुर्गाप्रसाद बरालले मिर्गौला रोगी मदन र पत्नी कविता बराललाई रकम हस्तान्तरण गरे । सो अवसरमा बराल वंश प्रतिष्ठान झापाका अध्यक्ष टंक बराल, मदन बराल उपचारार्थ अभियानका सचिव केशव खनाललगायतले बचाउअभियान बारे बोलेका थिए ।

हाम्रो सानो सहयोगले बरालको जीवनको रक्षा हुन्छ भने किन पहल नगर्ने भन्दै झापामा पनि मदन बराल उपचारार्थ अभियान सुरु गरिएको अभियानका सचिव खनालले बताए । उनले सञ्चार माध्यमहरुलाई सकेसम्म मिर्गौला पीडित बरालको लागि समाचार सम्प्रेशन गरिदिन आग्रह गरेका छन् ।
बराल अहिले बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा हप्ताको दुई पटक डायलासिस गराइरहेका छन् । उनका दुवै मिर्गौला खराब भएका कारण अहिलेसम्म ३० लाख रुपैयाँ भन्दाबढी उपचार खर्च भइसकेको मदनले बताए । पतीको उपचारको लागि धेरै रकमको आवश्यक परेको तर आफ्नो आर्थिक अवस्था कमजोर भएको हुँदा आर्थिक सहयोगको लागि याचना गरेको उनकी श्रीमती कविता बरालले बताईन् ।
हालसम्म स्थानीय छरछिमेकी, कोरिया, अमेरिका, कतारलगायतका ठाउँहरुबाट उपचार सहयोग संकलन भइरहेको जनाइएको छ । मानवीय सहयोग गर्ने मनकारीहरुलाई मदन बचाउ अभियानमा संलग्न रहन आग्रह गर्दै श्रीमती कविताले उपलब्ध गराएकी छिन् । राष्ट्रिय वाणिज्य बैंक, शाखा बिर्तामोडको खाता नम्बर २६२००१४००४१० वा बैंकको खाता नम्बर प्रभु ०१५२८६१६ उपलब्ध गराएकी छिन् ।

