Aamsanchar

वाह ! यस्तो पो स्कुल

Author Image
मङ्गलवार, माघ ११, २०७३

खोटाङ :

डेढ वर्षअघि विद्यार्थी नभएर खारेजीमा पर्दा कसैले कल्पनासमेत गरेको थिएन– कुनै दिन जनजागृति प्रावि उदाहरणीय स्कुलका रूपमा चिनिनेछ भनेर। समयले यसरी कोल्टे फेर्‍यो कि, यतिखेर पूर्वका झापा–इलामदेखि पश्चिमका जुम्ला–हुम्लासम्मका विद्यार्थीले भरिएको छ स्कुल।

डेढ सय विद्यार्थीलाई आवासीय सुविधासमेत छ।  ३ शिक्षकको दरबन्दी भएको विद्यालयमा ७ मात्र विद्यार्थी भएपछि जिल्ला शिक्षा कार्यालयले खारेज गरेको थियो। तर अभिभावक र विद्यालय व्यवस्थापन समितिको मिहिनेतले यतिखेर कोदालोदेखि कम्प्युटरसम्मको पढाइ हुने स्कुलका रूपमा नाम कमाएको छ, जनजागृतिले।

स्कुल खारेज भएपछि अभिभावकको पहलमा विद्यार्थी व्यवस्था गरेर फेरि सञ्चालनमा ल्याइयो। शिक्षाप्रेमी सूर्य राई व्यवस्थापन समितिको अध्यक्ष बने। तत्कालै शिक्षण विधि फेरियो। पढाइ कक्षामा होइन, स्थलमै विद्यार्थी लगेर सिकाउन थालियो।

‘अचेल कोदालोदेखि कम्प्युटरसम्मको पढाइ हुने गरेको छ। जमिन, जंगल र जलसम्मको पठनपाठन हुन्छ’, अध्यक्ष राईले भने, ‘विद्यार्थीलाई बारीमै गएर बारीसम्बन्धी सबै शब्द र अर्थ बुझाइन्छ, खोलासम्बन्धी पढाउन खोलामै लगिन्छ, यसो गर्दा विद्यार्थीले कहिल्यै भुल्दैनन्।’

जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले यसखाले पठनपाठनले आफू प्रभावित भएको बताए। ‘धेरै पढाउनु पर्दैन रहेछ,’ उनले भने, ‘दिनमा ३वटा शब्द जाने काफी हुँदो रहेछ। व्यावहारिक र प्रयोगात्मक सिकाइले शिक्षाप्रतिको बुझाइमै फरक पर्दोरहेछ।’

अध्यक्ष राईले पाठ्यपुस्तकसँग होइन, पाठ्यक्रमका आधारमा पढाउने गरिएको बताए। ‘पाठ्यक्रमकै आधारमा कृषि, पशुपन्छी, घर निर्माण, उद्योग, कम्प्युटरलगायत जीवनोपयोगी ज्ञान दिने विधि अपनाएका छौं’, उनले भने।

विद्यालयमा सरकारी दरबन्दीमा प्रावि तहका एक जना (सविता ढकाल) मात्र शिक्षक छन् । अन्य ५० जनालाई व्यावहारिक शिक्षकका रूपमा राखिएको छ। रोचक के छ भने, जुम्ला, कालिकोट, मुगु, हुम्ला, मुस्ताङ, कास्की, काठमाडौं, सिरहा, उदयपुर, झापा र इलामदेखिका विद्यार्थी पढ्न आएका छन्। न्युन आर्थिक स्थिति भएका र भूकम्प प्रभावितलाई प्राथमिकता दिएर भर्ना गरिएको छ। कान्तिपुरबाट

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर