नक्कली प्रमाणपत्रको आरोप झूटो ठहर, डा. गिरीलाई अदालतबाट सफाई


बिर्तामोड ।
बिर्तामोडस्थित वीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टर प्रालिका प्रबन्ध निर्देशक डा. रामबाबु गिरीलाई नक्कली प्रमाणपत्र लिई चिकित्सा पेशा गरेको आरोपमा दायर भएको मुद्दा झूटो ठहर भएको छ ।
केन्द्रीय अनुसन्धान व्यूरो(सीआईबी) महाराजगञ्जले दायर गरेको उक्त मुद्दा काठमाडौं जिल्ला अदालतले मंगलवार झूटो भएको ठहर गरी डाक्टर गिरीलाई सफाई दिएको अदालत स्रोतले जनाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायधीश कृष्ण मुरारी शिवाकोटीको एकल इजलासले डाक्टर गिरीलाई पूर्ण सफाई दिएको हो ।
‘डा. गिरीले बंगलादेशबाट एमवीवीएस र फिलिपिन्सबाट एमडी गरी मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गरी रीतपूर्वक चिकित्सकको रुपमा दर्ता प्रमाणपत्र लिएको देखिएकाले निजले सफाई पाउने ठहर छ’– डा. गिरीलाई अदालतले दिएको सफाई फैसलामा उल्लेख छ ।
०७२ फागुन १९ गते बिर्तामोड–६ निवासी ३८ बर्षीय डा. गिरीलाई नक्कली प्रमाणपत्र लिएको आरोप लगाइएको थियोे । डा. गिरीले सन् २००४ मा बंगलादेशको युनिर्भसिटी साइन्स टेक्नोलोजी सेन्टरबाट एमवीवीएस र सन् २०१२ मा फिलिपिन्सको इष्ट एभिन्यू मेडिकल कलेजबाट रेडियोलोजिष्टमा ४ बर्षे कोर्ष पूरा गरी एमडी गरेको अदालतले पुष्टि गरेको छ ।
डा. गिरीले एमवीवीएसको अध्ययन पूरा गरी मेडिकल काउन्सिलको परीक्षामा सहभागी भई चिकित्सकको दर्ता प्रमाणपत्र लिएको र एमडी गरेपछि पनि सोही प्रक्रियाबाट चिकित्सकको दर्ता प्रमाण पत्र लिएको देखिएको अदालत स्रोतले जनाएको छ ।
डा. गिरीकोतर्फबाट सर्वोच्च अदालतका अधिवक्ता डीएन पराजुलीले आवश्यक प्रमाणसहित बहस गरेका थिए ।
वीएण्डसी अस्पताल र मेडिकल कलेज सञ्चालनमा बाधा पु¥याउन डा. गिरीलाई फसाउने षड्यन्त्र असफल सावित भएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । उनका अनुसार अदालतको उक्त फैसलाले मेची अञ्चलवासीले वीएण्डसीबाट गुणस्तरीय स्वास्थ्य सेवाका साथै मेडिकल शिक्षा पाउने कुरामा उत्साह थपिएको छ । ढिलै भए पनि सत्यको पक्षमा अदालतले गरेको फैसलाले न्याय पाइन्छ भन्ने कुराको पुष्टि गरेको उल्लेख गर्दै हस्पिटलले अदालत र न्याय दिलाउने कार्यमा सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

