Aamsanchar

हात्ती आक्रमणबाट ३०को मृत्यु

Author Image
बुधवार, माघ १२, २०७३

बिर्तामोड ।

सरकारले हात्ती नियन्त्रणका लागि विभिन्न कार्यक्रम तथा परियोजना सञ्चालन गरे पनि झापामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन ।
पछिल्लो चार वर्षको अवधिमा जंगली हात्तीको आक्रमणमा परी २५ जनाको मृत्यु भएको थियो भने चालू आर्थिक वर्षको छ महिनामा मात्रै पाँच जनाले ज्यान गुमाएका छन् । भारतीय क्षेत्रबाट नेपाल प्रवेश गरेका जंगली हात्तीका कारण सीमावर्ती गाविस तथा नगरपालिकाका वासिन्दा बढी प्रभावित छन् । पूर्वाेत्तर झापाको वाहुनडाँगीमा दैनिकजसो आउने गरेका जंगली हात्ती पछिल्लो समय झापाको दक्षिणी क्षेत्रतर्फ आउन थालेसंगै त्यहाँको जनजीवन प्रभावित भएको छ । बाहुनडाँगीमा विश्व वैंकको सहयोग तथा सरकारको लगानमा हात्ती रोक्न विद्युतीय तारको प्रयोग गरिएपछि जंगली हात्ती दक्षिणतर्फ रहेका सामुदायिक वनमा बस्न थालेका छन् । दिनहुँजसो जंगलबाट निस्किएर मानववस्तीमा पसेर जंगली हात्तीले दुःख दिन थालेपछि दक्षिणी झापाका सर्वसाधारणमा त्रास छाएको छ । दक्षिणी क्षेत्रमा रहेका सामुदायिक वनमा छावासहित वसेका हात्ती रातको समयमा गाउँ पस्ने गरेपछि हात्तीको डरले रातभरि जाग्राम बस्नु परेको गरामनी–२ निवासी कविता नेपाललले बताइन् । उनले भनिन्– ‘चारआलीमा रहेको सामुदायिक वनमा हात्ती दिनभर बस्छन् अनि रातपरेपछि बस्ती छिरेर अन्नपात खानुका साथै उपद्रो मच्चाउने गरेकाले कति दिनदेखि सुत्नै पाएका छैनौं ।’
मायालु सामुदायिक वनमा घाँस काट्न गएका एक बालिका र एक महिलाको हात्तीको आक्रमणमा परी आइतवार मृत्यु भएपछि दक्षिणी झापामा हात्तीको त्रास थपिएको छ । हुल बाँधेर गाउँ छिर्ने गरेका हात्तीले कुन बेला मार्छ पत्तो छैन – पृथ्वीनगरका सुन्दर लिम्वूले भने– आधा मासु पारेर बस्नु परेको छ ।
जिल्ला वन कार्यालय झापाको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षमा गरामनी–४ का जयनारायण अधिकारी, बाहुनडाँगी–२का मनहरि ढुङ्गेल, शरणामती–४की झुमादेवी भट्टराई र भद्रपुर नगरपालिका–२का पालमाया सुब्बा तथा शर्मिला लिम्वूको हात्तीको आक्रमणमा परी ज्यान गएको छ । योसँगै हालसम्म हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको संख्या तीस पुगेको छ । सरकारले हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको परिवारलाई अघिल्लो आर्थिक वर्षवाट पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । जसअन्र्तगत जिल्ला वन कार्यालय झापाले मृतकको परिवारलाई अहिले राहत स्वरुप ५० हजारका दरले अर्थिक सहयोग गरिरहेको जिल्ला वन कार्यालय झापाका अधिकृत वोधराज सुवेदीले बताए । वाँकी रकमका लागि वजेट माग गरिएको सुवेदीको भनाइ छ ।
जंगली हात्तीको आक्रमणमा परी झापामा चालू आर्थिक वर्षमा ४ जना घाइते भएका छन् ।
त्यस्तै हात्तीले लाखौं रुपैयाँको धनमाल क्षति गरेको बताइएको छ । हात्तीले पु¥याएको क्षतिको विवरण संकलन गरी अहिले जिल्ला वन कार्यालय झापाले राहत वितरण गरिरहेको वन अधिकृत सुवेदीले बताए । उनका अनुसार चालू आर्थिक वर्षमा कार्यालयले ९ लाख ६३ हजार रुपैयाँ राहत बितरण गरेको छ ।
अघिल्लो आर्थिक वर्ष हात्तीले पु¥याएको क्षतिका लागि सरकारले एक करोड सात लाख रुपैयाँ राहत वितरण गरेको थियो । हात्तीले अघिल्लो आर्थिक वर्ष नौ सय ८७ जनाको घरमा क्षति पु¥याएको थियो ।
यसैबीच मृतकका परिवारलाई मंगलबार तत्काल राहतका लागि ५०/५० हजार रुपैयाँ उपलब्ध गराइएको जिल्ला बन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले जानकारी दिए । स्थानीयबासीलाई सजग हुन र बन क्षेत्रभित्र नजान भनिएको उनले बताए । उनले भने– ‘सर्वसाधारण आफैंले बुझ्नुपर्ने हो । जंगली हात्ती हिँडडुल गर्ने ठाउँ भनेको जंगल वा आसपासका क्षेत्र हो, तर त्यस्तै जोखिम मोलेर गइदिन्छन् ।’
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख शैलेश थापा क्षेत्रीले मानिसहरुलाई जंगल क्षेत्रमा नजान अनुरोध गरिएको बताए । उनले घटना भएपछि तत्काल घटनास्थलमा प्रहरी परिचालन गरिएको बताए । जंगली हात्तीसँग मानिसको जम्काभेट आकस्मिक हुने भएकाले पनि सतर्क रहन सर्वसाधारणलाई उनले आग्रह गरेका छन् ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर