Aamsanchar

नेपाली अलैंची र अदुवामा विदेशी अनुसन्धानकर्ताहरुको चासो

Author Image
बुधवार, माघ १२, २०७३

बिर्तामोड।

विद्यावारिधीमा कृषिवस्तु अलैंची र अदुवामा सोध गरिरहेका विभिन्न देशका अनुसन्धानकर्ता र प्राध्यापकहरुले अलैंची तथा अदुवाका रोपण विधिदेखि प्रशोधन र बजारीकरणसम्मको अवस्थाका बारे चासो देखाएका छन् ।
नेपाल अलैंची व्यवसायी महासंघले संयोजन गरेको ‘नगदे बाली उत्पादन, प्रवद्र्धन र निर्यात’ सम्बन्धी कार्यशालामा सहभागी भएका उनीहरुले नेपालमा उत्पादित नगदे बालीको विविध पक्षका बारे जानकारी लिनुका साथै आफ्ना सिकाइहरु आदान–प्रदान गरेका थिए ।
उनीहरुले नेपालको अलैंची तथा अदुवा खेतीको अवलोकन गर्नुका साथै सरोकारवालाहरुसँग छलफल समेत गरेका थिए । पूर्वी पहाडी जिल्लाका अलैंची तथा अदुवा खेतीको अध्ययन–अवलोकनसँगै किसानहरुसँग छलफल गरी सोमबार झापा फर्किएको टोलीले मंगलबार बिर्तामोडमा व्यवसायी र सरोकारवाला संघ–संस्थाका पदाधिकारीहरुसँग छलफल गरेको हो ।
कार्यक्रममा अनुसन्धानको अगुवाइ गरिरहेको संस्था नेपाल सेन्टर फर कन्टेम्पोरेरी रिसर्च (एनसीसीआर)–का कार्यक्रम संयोजक विष्णुराज उप्रेतीले यो अनुसन्धानले नेपालका कृषि नगदे बालीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउनुका साथै तेस्रो मुलुक निर्यातमा पनि सघाउ पु¥याउने बताए । त्यस्तै टोलीमा सहभागी स्वीटरजरल्याण्डको बेन युनिभर्सिटीका प्रोफेसर हान्स पिटर न्वयले नेपालको अलैंची निकै स्वादिलो र सुगन्धित रहेको प्रतिक्रिया दिँदै प्याकेजिङ, गुणस्तरजस्ता कुरामा ध्यान दिनसके अलैंची लगायत नेपालका कृषि उत्पादनले अन्तर्राष्ट्रिय बजारमा सहजै प्रवेश पाउन सक्ने आफूलाई लागेको बताए ।
एनसीसीआरका कार्यक्रम संयोजक प्राध्यापक उप्रेतीले सो संस्थाले कृषि विभाग र काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरी प्राज्ञिक अनुसन्धान कार्यक्रमअन्तर्गत नगदेबालीमा महिलाहरुको भूमिका तथा योगदान सम्बन्धमा अलैंची तथा अदुवाजस्ता नगदेबालीमा अनुसन्धान अघि बढाउँदै र त्यसै अन्तर्गत कार्यशाला गरिएको आएको जानकारी दिए ।
अनुसन्धान टोलीले यी क्षेत्रमा उत्पादनदेखि व्यवसाय तहसम्म भइरहेको महिलाहरुको सहभागिताको प्रशंसा गरेको छ । कार्यशाला सकिएपछि टोलीले नेपाल अलैंची व्यवसायी महासंघका महासचिव ओमकृष्ण विमलीको गोदाममा गई अलैंची ग्रेडिङको अवलोकन गरेको थियो । त्यहाँ अधिकांश महिला कामदार पाएपछि टोलीकी प्राध्यापक डा. स्टेफिन जकेटले खुशी प्रकट गरेकी थिइन् ।
टोलीमा नेपाल, स्विट्जरल्याण्ड, बोलिभिया, लावस र युगाण्डाका अनुसन्धानकर्ताहरु सहभागी रहेको एनसीसीआरका कार्यक्रम संयोजक उप्रेतीले जानकारी दिए । नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्रकुमार खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आयोजक संस्था एनसीसीआरका कार्यक्रम संयोजक उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल अलैंची व्यवसायी महासंघका संरक्षक राजेन्द्रकुमार घिमिरेले नेपालमा नगदेबाली उत्पादन, प्रवद्र्धन र निर्यात सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडा, झापा उद्योग वाणिज्य संघका उपाध्यक्ष पृथ्वीराज डाँगी, झापा उद्योग संघका महासचिव दुर्गाप्रसाद भण्डारी लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेपाल अलैंची व्यवसायी महासंघका कार्यालय प्रमुख अनिल ढुंगानाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर