Aamsanchar

बाढीपीडितलाई अस्थायी टहरा हस्तान्तरण

Author Image
बुधवार, माघ १२, २०७३

दमक।

इजरायलमा बस्दै आएका झापालीले झापाको शिवसतासीस्थित चिल्लागढका बाढीपीडितलाई अस्थायी टहरा निर्माणमा सहयोग प्रदान गरेका छन् ।

बाढीपीडितको बसोबासका लागि झापा–इजरायल सम्पर्क समाजले रु दुई लाख २० हजार बराबरको भौतिक सामग्री उपलब्ध गराएको थियो । समाजले बाढीपीडितलाई २० बन्डल जस्तापाता, १५ बोरा सिमेन्ट, ४२ थान ट्रस्ट पिलर, तीन थान ट्वाइलेट सेट, दुई थान ट्युबवेल उपलब्ध गराएको थियो ।

गत साउनको दोस्रो सातादेखि कन्काई नदीको कटानबाट त्यस क्षेत्रका सात घरपरिवार पूर्णरुपमा विस्थापित भएका थिए । विस्थापित भएपछि ती बाढीपीडित स्थानीय कन्काई सिँचाइ आयोजनाको क्षेत्रमा पर्ने सैनिक बस्तीमा अस्थायी टहरा निर्माण गरी बस्दै आएका छन् । मङ्गलबार समाजले एक कार्यक्रम गरी बाढीपीडितका लागि निर्मित जस्तापाता सहितको संरचनाको हस्तान्तरण गरिएको अस्थायी टहरा निर्माण अभियानका संयोजक होम गौतमले जानकारी दिनुभयो ।

यसैबीच, अस्थायी टहरामा बस्दै आएका बाढीपीडितले तत्कालको बसोबासको समस्या टरेको भए पनि आफूहरुलाई खाद्यान्न सङ्कट भएको गुनासो गरेका छन् । विस्थापित तुलसी तिम्सिनाले अघिल्लो वर्ष लगाएको धानबाली समेत सम्पूर्ण कटान भएपछि आउने मङ्सिर सम्मका लागि के खाने भन्ने समस्या जटिल बन्दै गएको गुनासो गर्नुभयो ।

कन्काई नदीको कटानबाट तुलसी तिम्सिनाको एक बिघा, विष्णु रिजालको १० कट्ठा, डम्बर रिजालको १० कट्ठा, धर्मानन्द रिजालको १९ कट्ठा, योगमाया पोख्रेलको आठ कट्ठा १० धुर, श्रीप्रसाद लिम्बुको एक बिघा र लालबहादुर लिम्बूको ६ कट्ठा जमिन पूर्णरुपमा कटान गरेपछि ती परिवार अहिले टहरामा बस्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर