Aamsanchar

७६ वर्षमा १२ कक्षा उत्तीर्ण !

Author Image
बिहिवार, माघ १३, २०७३

सोलुखुम्बु।

विसं २०६६ मा ६९ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेर चर्चा कमाएका पावै–६ सोलुखुम्बुका काजीबहादुर गिरीले ७६ वर्षको उमेरमा यस वर्ष कक्षा १२ उत्तीर्ण गर्नुभएको छ ।

गाउँमा योजनाको उपभोक्ता समितिमा बस्दा समस्या भएपछि ‘पढाइ महत्वपूर्ण रहेछ जसरी पनि पढ्छु’ भन्दै २०६३ सालमा वीरेन्द्रज्योति उच्चमावि सोताङमा कक्षा ८ मा भर्ना हुनुभएका गिरीले त्यसपछि नियमित विद्यालय गएर २०६६ सालमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो ।

सुरुका दिनमा नातिनातिना उमेरका विद्यार्थीसँग पढ्दा असहज भएको भए पनि पछिल्ला दिनमा सहज भएको गिरीले बताउनुभयो । एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षा हासिल गर्ने अभिलाषाका साथ कक्षा ११ मा भर्ना भएका गिरीले यस वर्ष उच्चमाध्यमिक तह उत्तीर्ण गरेको बताउनुभयो ।

वृद्धभत्ताको रकम खर्च गरेर उच्च शिक्षा पढेको बताउने गिरी सोताङ बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्ने तयारीमा हुनुहुन्छ ।

आफू पढ्न थालेपछि गाउँका थुप्रै बुहारीले पनि पढ्न उमेरले छेक्दैन भनेर कक्षा ११ मा भर्ना भएको उहाँ बताउनुहुन्छ । कक्षा ८ देखि १२ सम्म अध्ययन गर्दा गिरीले विद्यालय पोसाकमा किताबको झोला बोकी सकेसम्म गयल नहुने प्रयास गर्नुहुन्थ्यो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर