Aamsanchar

कामपाद्वारा नेपाली सेनालाई एम्बुलेन्स हस्तान्तरण

Author Image
बिहिवार, माघ १३, २०७३

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले नेपाली सेना जङ्गी अड्डालाई एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।  आयोजना गरेको एक कार्यक्रमबीच कामपाको कार्यकारी अधिकृत रुद्रसिंह तामाङले नेपाली सेनाका उपरथी डा किशोरजङ्ग राणालाई सो एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । बा १ झ ९१४७ नं को सो एम्बुलेन्स महानगरपालिकाको स्वामित्वमा रहेको थियो ।

सो अवसरमा कार्यकारी अधिकृत तामाङले नेपाली सेना र महानगरबीच सहरी सुरक्षा र सुन्दरता अभिवृद्धिका क्षेत्रमा सहकार्य भइरहेको बताउँदै नागरिकको अड्डा र सुरक्षा अड्डाबीचको सम्बन्धबाट नागरिकले प्रत्यक्ष लाभ लिने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली सेनाका उपरथी डा राणाले नेपाली सेनाले पदबहाल रहेका सेना र तिनका परिवार तथा सेवा निवृत्त सेना र तिनका परिवारका लागि मात्र नभई आपत् विपद्मा रहेका नागरिकको सेवामा पनि समर्पित रहँदै आएको बताउँदै महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्स त्यस्तै सेवामा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आकस्मिक स्वास्थ्य उपचारमा प्रयोग हुने सामग्री समाविष्ट घुम्ती (रिमुभेवल) अस्पतालसहितको उक्त एम्बुलेन्स महानगरपालिकालाई चीन सरकारले अनुदान सहयोगमा उपलब्ध गराएको थियो ।

एम्बुलेन्समा एउटा फायर इस्टिङ्गग्विसर, दुई वटा अक्सिजन सिलिन्डर, दुई वटा टेलिफोन सेट, एउटा रियर भ्यु मोनिटर, एउटा ग्लास ब्रेकर, एउटा स्पेयर टायर, दुई वटा ब्याट्री लगायतका सामग्री तथा उपकरण छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर