Aamsanchar

१० टिम मैदानमा

Author Image
शुक्रवार, माघ १४, २०७३

बिर्तामोड।

माघ १५ गतेबाट शुरु हुने दोस्रो रमपम झापा गोल्डकप २०७३ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा १० वटा टीमले प्रतिष्पर्धा गर्ने भएका छन् ।
उद्घाटन खेलमा आयोजक रमपम झापा ११ र भारतको शेरे फुटबल क्लवबीच प्रतिष्पर्धा हुने बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइयो ।
प्रतियोगितामा आयोजक टीमसहित मनाङ–मस्र्याङ्दी फुटबल क्लव काठमाडौं, नेपाल सशस्त्र प्रहरी क्लव, नेपाल पुलिस क्लव, शेरे फुटबल क्लव भारत, न्यूरो टीम काठमाडौं, हिमालयन शेर्मा क्लव काठमाडौं, त्रिभुवन आर्मी क्लव काठमाडौं, रुपन्देही ११ फुटबल क्लव बुटवल र सुदुरपश्चिम फुटबल क्लव कैलालीले प्रतिष्पर्धा गर्ने दोस्रो रमपम झापा गोल्डकप २०७३ मूल आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले सात लाख नगदसहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले तीन लाख ५० हजारसहित ट्रफी र प्रमाणपत्र हात पार्ने छन् ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै प्रतियोगिता सञ्चालनार्थ ७५ लाख रुपैयाँ खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजक समितिका कोषाध्यक्ष केदार गिरीका अनुसार प्रतियोगिताका लागि सहकारी, बैंक र उद्योग गरी २६ कर्पोरेट हाउसबाट ५२ लाख रुपैयाँ रकम संकलन भइसकेको र एक सय एक सदस्यहरुबाट २१ हजारका दरले समेत नगद प्राप्त भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
झापा गोल्डकपलाई मुलुककै नमूना गोल्डकपको रुपमा स्थापित गराउँदै लाने सोचका साथ कार्यसम्पादन भइरहेको समेत पत्रकार सम्मेलनमा अध्यक्ष गिरीले बताए । प्रतियोगिता सञ्चालनार्थ एसियन थाइ फुड्सले मुख्य प्रायोजकको रुपमा सहयोग गरेको समेत बताइएको छ । नौ वटा खेल सञ्चालन हुने र प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई हरेक दिन नगद सात हजार, सिल्भर मेडल प्रदान गरिने जनाइएको छ ।
त्यसैगरी उत्कृष्ट गोलकिपर एक, उत्कृष्ट डिफेन्स एक, उत्कृष्ट मिडफिल्डर एक, सर्वाधिक गोलकर्ता एक, प्रशिक्षक एक गरी पाँच विधामा उत्कृष्ट छनौट गरी नगद १५ हजारका दरले रकम प्रदान गरिने बताइएको छ । त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीहरुलाई नगद ३० हजार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । माघ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा समितिका उपाध्यक्ष युवराज प्रसाईं, कोषाध्यक्ष केदार गिरी, फुटबल संघ झापाका अध्यक्ष तथा झापा ११ फुटबल क्लवका अध्यक्ष जलकुमार गुरुङ, सदस्यहरु गजेन्द्र पौडेल, कुमारमणि पोखरेल लगायतको आतिथ्य रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन सचिव केशव दाहालले गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर