Aamsanchar

भेट्रान कपको उपाधि चारआली–धाइजनलाई

Author Image
शुक्रवार, माघ १४, २०७३

लक्ष्मीपुर।

झापाको लक्ष्मीपुरमा जारी पूर्वाञ्चलस्तरीय दोस्रो लक्ष्मीपुुर भेट्रान फुटबल कप–२०७३ को उपाधि चारआली–धाइजन भेट्रान क्लबले हात पारेको छ ।
उपाधिका लागि सुरुङ्गा भेट्रान फुटबल क्लब र चारआली–धाइजन फुटबल क्लबबीच विहीवार सम्पन्न फाइनल खेलमा शून्यका विरुद्ध २ गोल गर्दै चारआली–धाइजन भेट्रान फुटबल क्लब विजयी भएको हो ।
फाइनल खेलमा चारआली–धाइजन भेट्रान फुटबल क्लबकातर्फबाट जर्सी नंं. १४का तीर्थबहादुर याक्सोले २ गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच र म्यान अफ द सिरिज पनि याक्सो नै घोषित भएका थिए ।
प्रतियोगिताको विजयी चारआली–धाइजन भेट्रान फुटबल क्लबलाई तुलसादेवी कटुवालले प्रायोजन गरेको ४० हजार नगद, ट्रफी र मेडल, उपविजेता सुरुङ्गा भेट्रान फुटबल क्लबलाई हेयर स्टाइलिष्ट निलडेबिड कटुवाल र राजन कटुवालले प्रायोजन गरेको २५ हजार नगद, ट्रफी, मेडल प्रदान गरिएको थियो । प्रतियोगिताको हाइस्कोरर सुरुङ्गाका देउमान थेवे, वेस्ट टिम चन्द्रगढी भेट्रान फुटबल क्लब, वेस्ट गोलकिपर सुरुङ्गाका दीपेन्द्र बिमली घोषित भएका थिए ।
गत माघ ४ गतेदेखि भएको प्रतियोगितामा झापा, इलाम र मोरङका गरी १५ वटा टिमको सहभागिता रहेको टिम म्यानेजर दीपेन लिम्बूले बताए । खेल आयोजक समितिका अध्यक्ष राजन कटुवालको अध्यक्षता तथा सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राजेन्द्र पोखरेल, लीलाबहादुर कटुवाल, चन्द्रमोहन उप्रेती, अर्जुन भट्टराई लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन शिशिर भट्टराईले गरेका थिए ।
चारआली–धाइजन भेट्रान टिमका क्याप्टेन आशिष वनसहितका खेलाडीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त टिमले इलाममा भेट्रान कप कुटीडाँडा तथा स्थानीय क्षेत्रका दुई वटा भेट्रान कपको उपाधि चुमिसकेको छ । ५ बर्षदेखि भेट्रान फुटबल प्रतियोगितालाई संस्थागत रुपमा क्लबले प्रोत्साहन र निरन्तरता दिँदै आएको क्याप्टेन वनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर