Aamsanchar

न्यूट्न्स एजुकेशन एकेडेमीको १४औं बार्षिकोत्सव तथा फुड फेस्टिबल

Author Image
शुक्रवार, माघ १४, २०७३

बिर्तामोड।
बिर्तामोड–६ स्थित न्यूट्न्स एजुकेशन एकेडेमीको १४औं बार्षिकोत्सव तथा फुड फेस्टिबल कार्यक्रम विविध कार्यक्रमका साथ आज शुक्रवार सम्पन्न भएको छ ।
बार्षिकोत्सवको अवसरमा विद्यालयले शिक्षासेवीलाई अभिनन्दनका साथै उत्कृष्ट शिक्षक र कर्मचारीलाई पुरस्कृत गरेको छ । विद्यालयले भद्रपुर माविका पूर्व प्रधानाध्यापक प्रमोदचन्द्र शर्मा खरेल र उहाँकी श्रीमती शोभा शर्मालाई अभिनन्दन गरेको छ । शिक्षा क्षेत्रमा लामो समयदेखि पु¥याएको योगदानको कदर स्वरुप खरेल दम्पत्तिलाई अभिनन्दन गरिएको थियो ।
विद्यालयका संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाईं र कार्यक्रमका प्रमुख अतिथि सहायक जिल्ला शिक्षा अधिकारी युवराज पाण्डेले उनीहरुलाई दोसल्ला तथा अभिनन्दन पत्र प्रदान गरेका थिए । उक्त अवसरमा बर्ष उत्कृष्ट शिक्षकको रुपमा निमावि तहका खेमनाथ दाहाललाई पुरस्कृत गरियो । पुरस्कारको राशी ६ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै विषयगत शिक्षकतर्फ इपीएचका सुवास तिम्सिना र कम्प्युटरतर्फ सुनिल आलेलाई जनही १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारीको रुपमा चन्द्र गुरुङलाई नगदसहित पुरस्कृत गरिएको थियो ।
विद्यालयका शिक्षक देवेन्द्र हुमागाईका अनुसार बर्षको उत्कृष्ट अभिभावकको रुपमा गौरी–लीला भण्डारी, जीवनकुमार–कञ्चन लिङ्देन र राजु–सुमन जाजोडियालाई सम्मान गरिएको थियो । विद्यालयका अध्यक्ष गौतम शर्मा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक हुमागाईले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहायक जिल्ला शिक्षा अधिकारी पाण्डेले मुलुकको शिक्षा क्षेत्रमा निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताए । उनले गुणस्तरीय शिक्षामा न्यूट्न्सले हासिल गरेको प्रगतिको प्रशंसा गरे ।
विद्यालयका संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाईंले २१औं शताब्दिको शिक्षा कस्तो हुनुपर्छ भनेर आगामी बैशाखदेखि नमूनाको रुपमा बुट्टाबारी क्षेत्रमा छुट्टै विद्यालय सञ्चालन गर्न लागिएको र त्यसको नेतृत्व न्यूट्न्सले गर्ने बताए ।
संस्थापक प्रिन्सिपल प्रसाईंले गुणस्तरीय शिक्षाका लागि अब यहाँका विद्यार्थी दार्जीलिङ र दिल्ली पुग्नु नपर्ने, त्यहाँको स्तरको शिक्षा विद्यार्थीले घरमै भात खाएर यही आर्जन गर्न सक्ने अवस्था भएको बताए । सभ्य समाज र समृद्ध मुलुकको लागि गुणस्तरीय शिक्षाको आवश्यकता औल्याउँदै प्रसाईंले अभिभावक त्यसको लागि चनाखो बन्नुपर्ने बताए । सभ्यताको मुहान भनेको शिक्षा भएको बताउँदै उनले यसलाई स्वच्छ र उर्वर बनाउनुपर्नेमा जोड दिए । शिक्षाको क्षेत्रमा राज्य जिम्मेवार बन्न नसकेको प्रसाईंको भनाइ थियो ।

मुलुकका १० हजार निजी विद्यालय र २८ हजार सरकारी विद्यालय राज्य र जनताबीचको सहकार्यबाट सञ्चालन भएको प्रसंग उल्लेख गर्दै प्रसाईंले सामुदायिक विद्यालयलाई निजीको स्तरमा उठाउने हो भने राज्यले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने औंल्याए । बर्षेनी निजी विद्यालयको शुल्क बृद्धि हुने तर अभिभावकको आयस्रोत नबढ्ने यथार्थ उल्लेख गर्दै प्रसाईंले अभिभावकको आयस्तर बढाउने जिम्मा राज्यको भएको र राज्य जिम्मेवार हुनुपर्ने बताए ।
बार्षिकोत्सवको अवसरमा कक्षा ८का विद्यार्थीले ‘फुड फेस्टिबल’ समेत सम्पन्न गरे । विद्यार्थीले आफैले घरमै तयार गरेको खाद्य परिकारहरुका स्टल फेस्टिबलमा राखिएको थियो । न्यूट्न्सले दुई दिवसिय कार्यक्रमकासाथ वार्षिकोत्सव मनाएको हो । न्यूट्न्सले शुक्रबार अभिभावकका लागि मात्र कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा विद्यार्थीले उत्कृष्ट गीत, नृत्यका साथै विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । यसअघि विहीवार विद्यार्थीका लागि छुट्टै कार्यक्रम विद्यालयले सम्पन्न गरेको न्यूट्न्सकी संस्थापक धर्मा पराजुली प्रसाईंले बताइन् ।
कार्यक्रममा अनारमनकिा स्रोतव्यक्ति केशर खवास, एक्सेल वैंकका सीईओ दिनेशकुमार पोखरेल,समाजसेवी देवीप्रसाद गिरी लगायतको आतिथ्य थियो ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर