Aamsanchar

आज सोनाम ल्होसार , तामाङ समुदायले धुमधामका साथ मनाउँदै

Author Image
शनिवार, माघ १५, २०७३

काठमाडौं ।

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व शनिबार विविध कार्यक्रम गरी मनाउँदै छन्। मञ्जुश्री पात्रो अनुसार शनिबारदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ।

बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुङ्गुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष एवम् तामाङ समुदायको चाडपर्वका विषयमा खोज गरिरहनुभएका सम्पूर्णकुमार लामाले जानकारी दिनुभयो।

“यस वर्ष बौद्ध स्तुपको चार ढोका खुल्ने अवसर परेकाले पनि सोनाम ल्होसार विशेष रुपमा मनाइँदैछ, स्तुप निर्माणको काम चरा वर्षका दिन सुरु भई १२ वर्षपछि चरा वर्षमै सकिएकाले शनिबार बौद्धका चार ढोका खोलिन्छ, शनिबार दर्शनार्थीलाई चारै ढोकाबाट दर्शन गर्न दिइन्छ” उहाँले भन्नुभयो।

यस अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ। सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायलाई सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ।

“जातीय तथा धार्मिक–सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा तामाङ समुदायले यस पर्वलाई नयाँ वर्ष र न्वाँगी पूजाका रुपमा हर्षोल्लासपूर्वक धूमधामले मनाउने गर्दछन्।

आपसी मनोरञ्जन र खुशी साटासाट गरी मनाइने यस पर्वले हामीबिच बन्धुत्व, पारस्परिकता र सद्भाव कायम राख्न मद्दत पुर्‍याउने छ। मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो दायित्व हो” विज्ञप्तिमा उहाँले भन्नुभएको छ।

तामाङ संस्कृति आफैमा मौलिक, सुसंस्कृत, सम्पन्न र समृद्ध रहेको, यस पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैल्याई नेपालीबिचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण राख्न सकोस् भन्ने कामना राष्ट्रपति भण्डारीले गर्नुभएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर