Aamsanchar

स्ववियु निर्वाचन आचारसंहिता जारी

Author Image
आइतवार, माघ १६, २०७३

काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि ‘निर्वाचन आचारसंहिता’ जारी गरेको छ ।

निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनका लागि त्रिविले आज आचारसंहिता जारी गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी गराउनुभयो ।

आचारसंहिताअनुसार निर्वाचनका क्रममा विद्यार्थी सङ्गठनले आफ्नो पक्षमा मत जुटाउनका लागि कुनै तडकभडक प्रचारप्रसार गर्न नपाउने भएका छन् । उहाँले क्याम्पसको निर्वाचन समितिले क्याम्पसमा नै सबै उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम गरेर चुनावको आफँै प्रचारप्रसार गरिदिने बताउनुभयो ।

उहाँकाअनुसार आचारसंहितामा क्याम्पसको कम्पाउन्ड वालको बाहिर पट्टी, भित्र पट्टी र क्याम्पस परिसरमा वाल पेन्टिङ, निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने व्यवस्था छ ।

यसैगरी, उम्मेदवारले आफ्नो निर्वाचन घोषणा पत्र र उम्मेदवारको नामावलीको ए फोर साइजको एक रङ्ग भएको पर्चा मात्रै प्रचारप्रसार गर्न पाउने र क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको छ ।

फागुन १४ गते हुने स्ववियु निर्वाचनमा पहिलो पटक त्रिविले २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली अपनाउन थालेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर