Aamsanchar

पुलिसलाई हराउदै एनआरटीको विजयी सुरुवात (१० फोटो फिचर सहित)

Author Image
आइतवार, माघ १६, २०७३

बिर्तामोड । बिर्तामोडमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको रमपम झापा गोल्डकप–२०७३ फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा न्यूरोड टिम एनआरटी क्लब काठमाडौँ विजयी भएको छ ।
स्थानीय डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा सम्पन्न खेलमा एनआरटीले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पाखा लगाएको हो । खेल सुरुदेखि नै प्रतिस्पर्धात्मक बन्यो । सुरुवातमा एनआरटीको तुलनामा पुलिस बढी आक्रमक देखिन्थ्यो । खेलको पहिलो गोल पुलिसका विक्रम धिमालले गरे । सुदिप राईको कर्नर प्रहारलाई उनले ३१ औँ मिनेटमा गोल गरी उनले पुलिसलाई १–० को अग्रता दिलाएका हुन् ।
दोस्रो हाफमा एनआरटीले सम्हालिएर खेल्ने प्रयास ग¥यो । यद्दपि, गोल गर्ने थुप्रै अवसर खेर फाल्यो । दोस्रो हाफमा दर्शकले एनआरटीको पक्षमा चर्को हुटिङ गरेका थिए । खेलको ८३औँ मिनेटमा एनआरटीका गोलरक्षक अशोक बराल रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि एनआरटीका प्रशिक्षक श्याम मालीले खेलाडी मनिष घलेलाई बाहिर बोलाउँदै अर्का गोलरक्षक सन्देश गुरुङलाई मैदान प्रवेश गराएका थिए ।
९४औँ मिनेटमा एनआरटीका अशोक थापा मगरले शानदार गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा फर्काए । निर्धारित समयमा १–१ गोलको बराबरी भएसँगै २० मिनेट समय थप गरिएको थियो । समय थपिएसँगै खेल अझै रोमाञ्चक बन्यो । थप समयमा एनआरटी लयमा फर्कियो । १०४ औँ मिनेटमा एनआरटीका अशोक थापा मगरको प्रहारलाई राज पौडेलले शानदार गोल गर्दै टीमलाई २–१ को जीत दिलाए । थप समयमा पुलिसका केही कडा प्रहार एनआरटीका गोलरक्षक शन्देश गुरुङले बचाउ गरे ।
पुलिसका अञ्जन राई, विकास राई र अनुप लिम्बू तथा एनआरटीका सरोज योञ्जन र अभिषेक रिजालले पहेँलो कार्ड पाए । खेलको म्यान अफ द म्याच एनआरटीका अशोक थापा मगर घोषित भए । उनलाई म्याक्स हाउजिङ प्रालिका तर्फबाट नगद ७ हजार रुपैयाँ प्रदान गरियो । त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसले लक्की ड्रमार्फत दर्शकमध्येका एक कुमार याक्सोलाई एक्सपर्ट म्यान अफ द डे घोषणा गर्दै नगद ५ हजार प्रदान ग¥यो ।
सोमबारको खेल राष्ट्रिय खेलाडीले भरिएको हिमालयन शेर्पा क्लब काठमाडौँ र विभागीय टोली एपीएफबीच हुने आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए ।
एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् । दोस्रो पुुरस्कार बिर्तामोड निवासी राजन श्रेष्ठले दिने भएका छन् । हाल उनी कतारमा छन् ।

फोटोहरुः विनोद पाण्डे (कमल)आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर