Aamsanchar

कुलमानको पत्रले रुद्रसिंह तनावमा

Author Image
आइतवार, माघ १६, २०७३

काठमाडौं :

सडक बत्ती बालेबापत काठमाडौं महानगरपालिकाले विद्युत प्राधिकरणलाई ८६ करोड रुपैयाँ पुरानो बक्यौता तिर्न बाँकी रहेको पाइएको छ । यो रकम कहिलेको बक्यौता हो भनेर महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङ फाइल पल्टाउन थालेका छन् ।

प्राधिकरणमा कुलमान घिसिङ आएपछि उनले महानगरपालिकामा बिल भुक्तानका लागि पत्र पठाएपछि यो रहस्य खुलेको हो । सडक बत्ती बालेकै बिजुली बक्यौता ८६ करोड रुपैयाँको बिल महानगरपालिकामा पुगेपछि कर्मचारी आश्चर्य चकित परेका छन् भने महानगरपालिकाका कार्यकारी प्रमुख तामाङ तनावमा छन्।

वडास्तरमा रहेका मठ मन्दिरमा व्यक्तिगत प्रयोजनका लागि बालेको बिजुलीको बिल समेत महानगरपालिकाकै बिलमा गाभिएर आएको दाबी महानगरपालिकाको छ ।

‘मैतिदेवीको मन्दिर र सत्तलमा बालेका बत्तीको बिल समेत महानगरपालिकाको बिलमा गाभिएर आउने गरेको पाइयो, कम्तिमा त्यहाँका पुजारीले बिल तिरिदिएको भए हुनेथियो, अरु पनि त्यस्ता थुपै्र स्थान छन्, जहाँ अनावश्यक रुपमा बालिएको बत्तीको बिल महानगरपालिकाको थाप्लोमा आउने गरेको छ’, तामाङले भने ।

उनका अनुसार वडास्तरमा सडकमा बत्ती राख्नु परेमा समेत मिटर सजिलोका लागि महानगरपालिकको सिफारिसमा मिटर ल्याइएको रेकर्ड छ। उनले भने, ‘पहिलाका कार्यकारीले के हेरेर बसेको होलान् ! जिम्मेवारी कसैले बहन् नगरेपछि अहिले सबै मेरो थाप्लोमा हालिएको छ, सुरु देखिनै बिजुलीको बिल मासिक रुपमा तिर्दै गएको भए अहिले ठूलो भार लाग्ने थिएन् ।’

वडास्तरका सार्वजनिक सत्तल र मन्दिरमा भएको बिजुली चुहावटको बिल समेत महानगरपालिकाको नाममा आएको जानकारी तामाङले दिए। ‘बिजुलीको बिल तिर्न हामी तयार छौं तर एक पटक सबै वडास्तरमा कहाँकहाँ महानगरपालिकको नाममा बत्ती बलिरहेको छ, त्यो अभिलेख हेर्छौं’, तामाङले भने,‘ प्राधिकरणसँग पनि हामीले सोलार बत्ती जडान भएका ठाउँमा बिजुलीको लाइन काट्न माग गरेका छौं ।’

उनले कहिलेदेखि तिर्न बाँकी रहेको हो भन्ने प्रश्नको जवाफ दिन सकेनन् । ‘ फाइल पल्टाएर हेर्दैछु, कहिलेदेखिको हो भन्ने अवस्था छैन’, तामाङले भने । सडक बत्तीमा ननमिटरिङ सेवा अन्तर्गत बिजुलीको बिल महानगरपालिकामा जाने गरेको छ । अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर