Aamsanchar

हिरोइन र कोकिनभन्दा घातक रक्सी !

Author Image
मङ्गलवार, माघ १८, २०७३

झापा।

वरिष्ठ मृगौला रोग विशेषज्ञ ऋषिराज काफ्ले रक्सीलाई ‘ज्यानमारा’को उपमा दिन्छन् । उनका अनुसार रक्सीले स्वास्थ्यमा प्रतिकुल असर पार्दै मान्छेको ज्यान लिन्छ । मृगौलाको लागि रक्सी घातक सावित हुन्छ ।
‘फाइभस्टार होटलमा लाखौं पर्ने रक्सी होस् वा भट्टीमा पाइने १० रुपैयाँको लोकल झोल, मदिरा भनेको मदिरा नै हो ।’ उनले भने– ‘ढिलो चाँडो रक्सीले लिने भनेको ज्यानै हो । रक्सीको फाइदाभन्दा बेफाइदा नै बढी हुन्छ । ’ काफ्लेले रक्सीको बैगुन शुुरुमा नै सुनाए । रक्सीको गुणभन्दा बैगुन धेरै भएको जान्न डाक्टरको सल्लाह लिइरहनु पर्छ भन्ने छैन ।

अत्याधिक रक्सी सेवन गर्नेहरुको जीवनशैली हेर्दा रक्सीको बैगुन थाह पाउन सकिन्छ । डाक्टरहरुको अनुसार रक्सी सेवनले हृदयघात, फोक्सोको संक्रमण, कलेजोमा समस्या, सुगर र आन्द्रामा देखिने गम्भीर प्रकारका रोगहरु निम्त्याउँन मद्दत गर्दछ । रक्सीकै कारणले त्यस्ता रोगीहरु अस्पतालमा बढेको डाक्टरहरुको भनाइ छ ।
नेपालमा अत्याधिक प्रयोग हुने लागूपदार्थ रक्सी हो । महिलाहरूले बढी प्रयोग गर्ने लागूपदार्थमा पनि रक्सी नै अगाडि आउँछ । एक अध्ययनअनुसार नेपालमा मदिरा सेवन गर्ने मानिसहरू १८ देखि ३० वर्ष उमेर समूहमा ८० प्रतिशत छन् । त्यस्तै, १५ देखि ६० वर्ष उमेर समूहमा झण्डै ६७ प्रतिशत छन् । यो तथ्यांकले नेपालमा मदिरा दुव्र्यसनी सम्बन्धी ठूलो समस्या रहेको प्रष्ट हुन्छ ।
अधिकाशं रक्सी पिउनेहरुलाई रक्सीले ज्यान लिन्छ भन्ने थाह छ । विष जस्तै तत्कालै ज्यान नलिने भएकाले यो मन्दविषलाई उनीहरु जानी–जानी सेवन गरिरहेका हुन्छन् । स्वास्थ्य पत्रिका ल्यान्सेटमा प्रकाशित एक शोधका अनुसार स्वास्थ्यका लागि रक्सी हिरोइनभन्दा पनि हानिकारक हुन्छ ।
मद्यपान मृत्युका प्रमुख आठ कारणमध्ये एक हो । अनुसन्धानमा भनिएको छ ‘रक्सी सबैभन्दा हानिकारक नशा हो, किनभने समाजमा यसको प्रयोग व्यापक रूपमा हुने गर्छ ।’ उक्त अनुसन्धानका अनुसार लागूऔषधले समाजमा गर्ने हानी, हत्या–हिंसा, अपराध र आर्थिक क्षतिमा रक्सी अगाडि आउँछ । रक्सीपछि हिरोइन र कोकिनलाई खतरानाक नशालु पदार्थ मानिएको छ ।
तथ्यांक हेर्ने हो भने विकसित र आधुनिक समाजमा कडा र खतरनाक नशालु पदार्थबाट मर्नेको संख्याभन्दा कानूनी छुट पाएका लागूपदार्थ (चुरोट र रक्सी) बाट मर्नेको संख्या ३० गुणा बढी छ । अमेरिकामा मात्रै प्रत्येक वर्ष सवारी दुर्घटनामा मर्नेमध्ये झण्डै २५ हजार जतिको मृत्यु रक्सीकै कारणले भएको हुन्छ ।
रक्सीले स्वास्थ्य, आर्थिक, परिवार र सामाजिक अवस्थालाई बिस्तारै तहस–नहस पार्नेमा डक्टरहरु विस्वस्त छन् । विभिन्न अनुसन्धानले निकालेको तथ्य पनि यस्तै छ । प्रहरीको प्रतिबेदनमा रक्सी खाएर अपराध गर्नेहरुको नाम लिस्ट लामै छ । रक्सीले समाज र स्वास्थ्यमा दीर्घकालीन असर मात्र होइन तत्कालीनरुपमा पनि ठूलो दुर्घटना र अपराध निम्त्याएको देखिएको छ । १८ देखि ३० वर्षको उमेर समूहका युवाहरुमा मदिरा दुव्र्यसनी अधिक हुने भएकाले समाजमा दिनुहूँजसो झै–झगडा बढ्दो छ । रक्सी सेवन गरेर शुरु भएको मनमुटाव अपराधमा गएर बदलिएको उदाहरण प्रसस्तै छन् ।
रक्सीले कारण अकालमा ज्यान गुमाउने धेरै छन् । रक्सीको कारण घरपरिवार विल्लिबाठ गर्नेहरु प्रसस्तै छन् । रक्सीको कारणले सम्पती सक्नेहरु खोज्न धेरै टाढा जानु पर्दैन । रक्सीको नशामा अपराध गर्नेहरु यही समाजमा छन् ।

नेपाल प्रहरीले गरेका यस्ता विभिन्न अनुसन्धानमा मदिरा र यौनजन्य घटनाका कारण ज्यान गुमाउनेहरु धेरै नै भेटिएका छन् । मदिरा र यौनजन्य क्रियाकलापले निम्त्याएका घटनाहरुको महानगरीय प्रहरीसँग लिस्ट लामै छ । यस्तै किसिमको अपराधिक घटना यो दुई वर्षको अविधिमा चार वटा भए । जसले मिडियामा धेरै समयसम्म स्थान पाएका थिए ।

रक्सीले गुमाए ड्राइभरले ज्यान
काठमाडौंको जोरपाटीमा ट्याक्सी चालक राजकुमार लामा मृत भेटिए । प्रहरीले सार्वजानिक गरेको अनुसन्धानबाट हत्याको कारण रक्सी देखिएको थियो । अत्यधिक मादकपर्दाथ सेवन गरेपछि यौन सम्बन्ध राख्न खोज्दा उब्जेको विवादको कारण उनको हत्या भएको प्रहरीको अनुसन्धानले देखाएको थियो । प्रहरीकोे अनुसन्धान विवरणअनुसार हत्याको प्रमुख कारण ट्याक्सी चालक लामा र होटेलकी एक महिला कामदारबीचको यौन सम्बन्ध देखियो ।

रेष्टुरेण्टमा काम गर्ने महिला र लामाबीच दोस्रो पटक यौन सम्बन्ध राख्ने विषय विवादमा परिणत हुँदा त्यो घटना हत्यामा पुगेर टुंगियो । यौनको विषयमा दुईबीच विवाद भएपछि सँगै होटेलका एक युवको निद्रा बिथोलियो । निद्रा बिथोलिएको झोकमा रिसले चुर हँुदै उनले लामालाई इँटाले हाने । लामा त्यहीँ बेहोस भएर ढले ।

रक्सीले लठ्ठ साथीका कारण शिक्षिकाले गुमाइन् ज्यान
स्कूल जाँदै गरेकी भेनिषा लिम्बू हराएको खबर गत वर्षको फागुन १० गते अपराध महाशाखाले पायो । प्रहरीले उक्त खबर पाउँदा उनी सम्र्पकविहीन भएको दईदिन भइसकेको थियो । प्लस टु सकाएर उनी हेरिटेज स्कूलमा पढाउँथिन् । उनी २० वर्षकी थिइन् ।
प्रहरीले खबर पाउने बित्तिकै परिवारसँग तस्वीर लिएर सबै प्रहरी कार्यालयलाई खोजी कार्य गर्ने खबर दियो । त्यसको चार दिनपछि महानगरीय प्रहरी परिसर भक्तपुरले नगरकोटको मनपोखरीस्थित बाँसघारीमा एक युवतीको शव फेला पा¥यो । नगरकोटमा भेटिएको शव अरु कसैको नभएर भेनिसाकै थियो ।
घरबाट साथी भेट्छु भनेर निस्किएकी भेनिसाको शव भेटिएपछि प्रहरी अनुसन्धानतिर लाग्यो । कल डिटेलबाट भेनिसासँग पहिलोपटक सम्पर्क भएका व्यक्ति राजन राई भएको पत्ता लाग्यो । राईको खोजीमा खटिएको प्रहरीले उनलाई फेला पारेन । भेनिसा हराएको भनिएको दिनदेखि नै उनी परिवारको सम्पर्कमा नरहेको राईको परिवारले बतायो । त्यसपछि अनुसन्धानमा उनको संग्लग्नता रहेको ठहर गर्दै प्रहरी उनकै खोजीमा केन्द्रित भयो ।
उनको खोजी गरेको केहीदिनपछि राजनलाई सर्लाहीबाट उनका साथी सनी लामासहित पक्राउ ग¥यो । अनुसन्धान गर्दै जाँदा उनीहरुका अर्का साथी सजित लामा बौद्धमा पक्राउ परे । त्यसपछि हत्याको कारण खुल्यो मदिरा सेवन पछिको यौन सम्बन्ध राख्ने विषयमा उब्जिएको विवाद ।
भेनिसा फेसबुकमार्फत चिनजान भएका युवासँग डिस्को गइन । उनीहरुसँग यौन सम्र्पक गरिन् । मदिराको नशामा उनीहरुको लाजिम्पाटमा रहेको अपार्टमेन्टमा मध्यरातमा पुगिन । महानगरीय प्रहरीको अनुसन्धानले भेनिषाको हत्या हुनुको कारण यसरी प्रस्तुत गरेको थियो ।
भेनिषा अपार्टमेन्टमा पुग्दासँगै अपार्टमेन्ट पुगेका अर्का युवाको भेनिषासँग परिचय थिएन ।

अपार्टमेन्ट पुगेपछि पनि भेनिषाले सनीसँग बसेर बियर खाइन् । ती अपरिचत युवासँग भेनिषाको परिचय भयो । उनले भेनिषासँग यौन प्रस्ताव राखे । त्यो प्रस्ताव भेनिषाले अस्वीकार गरेपछि ती युवक रिसले आगो भए । भेनिषा र उनको झगडा भयो । रिसको झोकमा भेनिषालाई उनले ६ तलमाथिबाट खसालिदिए । नशामा लठ्ठ हुँदै भेनिषालाई गाडीमा भक्तपुर फ्याकेर फर्किए ।

रक्सीले लठ्ठ हु“दा प्रेमिका झ्यालबाट खसेको पत्तो पाएनन् प्रेमीले
धुम्बाराहीस्थित प्रगति टोलको बीचसडकमा ज्योत्सना तामाङको अर्धनग्न शव भेटियो । मर्निङ वाकमा हिंडेका स्थानीयले प्रहरीलाई खबर गरेपछि घटनास्थलमा प्रहरी पुग्यो । उनी त्यही टोल नजिकै बस्ने भनेर प्रहरीले उनको विवरण सार्वजनिक ग¥यो । त्यसपछि उनी बस्ने फ्लाटमा प्रहरी पुग्यो । ढोका लक थियो । प्रहरीले ढोका खोलेपछि कोठामा जना युवक मस्तसँग निदाइरहेका थिए ।
निदाइरहेका युवको नाम थियो प्रितम मानन्धर । प्रहरीले ज्योत्सनाको बारेमा सोध्दा थाह नभएको जानकारी दिए । उनलाई नियन्त्रणमा लिएर तल सडकमा लगेपछि ज्योत्सनाको शव देखेर मानन्धर झसङ्ग भए ।
प्रहरीको अनुसन्धानपछि प्रितम र ज्योत्सना प्रेमी–प्रेमिका भएको पत्ता लाग्यो । प्रितम हप्ताको एकपटक उनको डेरामा पुग्थे । घटनाको दिन पनि उनी ज्योत्सना कोठामा पुगेर थिए । बेलुका साढे १२ बजेसम्म दुबैले मदिरामा मस्त थिए । यौन सम्बन्ध राखिसकेपछि ज्योत्सना झ्यालबाट खसिन् । मदिराले लठ्एिका प्रितम उनी खस्दा निदाइसकेका थिए । त्यसैले उनले त्यो घटनाको बारेमा केही थाह पाएनन् ।

यौनचाहनाको आवेगमा बहिनीको भयो हत्या
पोखरामा २०७२ साल माघको अन्तिमतिर नेहा पुनको शव फेला प¥यो । गुरुङ फिल्मको हिरोइन भएकाले उनको शव भेट्ने बित्तिकै पोखरामा हंगामा भयो । सडक किनारामा शव भेटिएपछि प्रहरीभन्दा पहिले नै पोखरेलीहरुले आवाज उठाए नेहाको मृत्यु होइन हत्या भएको हो । त्यसपछि प्रहरीको अनुसन्धानले पनि पुष्टि ग¥यो उनको हत्या नै भएको हो ।
उनको हत्यामा संलग्न रहेका कृतन खड्गीलाई ६ दिनपछि प्रहरीले पक्राउ ग¥यो । खड्गी पक्राउपछि हत्याको कारण मदिरा र यौनचाहना रहेको प्रहरीलाई बताए । उनको बयान अनुसार घटनाको दिन साथीहरु भेला भएर ओपन रेष्टुरेण्टमा मदिरासहित रमाइलो गरेका थिए । नेहालाई घर पु¥याउन खड्की गए ।
नेहाले खड्गीलाईे धर्मदाइ बनाएकी थिइन् । त्यसैले उनीसँग जान कुनै संकोच थिएन । तर, मदिराको नशाले उनको मति खलबलिदै गएको थियो । मोटरसाइकलबाट घर लग्दै गर्दा खड्कीले लेकसाइटको होटेलमा गएर रमाइलो गर्ने प्रस्ताव गरे ।

नेहाले आवेगमा आएर खड्कीलाइै गाली गर्न थालिन् । रिस खप्न नसकेर नेहालाई खड्कीले हेलमेटले हाने । नेहाको टाउकोबाट रगत बग्न थालेपछि खड्की भागे । रक्सीको कारण भएका यस्ता घटनाहरु प्रहरीको लिस्ट लामै छ । करणी गर्ने, सवारी दुर्घटना लगायतको लिस्टमा रक्सी सेवन कारकतत्व भएको देखिन्छ ।

Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर