Aamsanchar

आफ्नै लगानीमा मनग्य आम्दानी

Author Image
मङ्गलवार, माघ १८, २०७३

तेह्रथुम ।

हमरजुङ गाविस–७ का हिमा कार्की आजभोलि दुईवटा उन्नत जातका गाई पालेर दूध बिक्री गर्दैआउनुभएको छ । उहाँले गाईसँगै बाख्रा समेत आफ्नै लगानीमा पाल्नुभएको छ ।

अहिले गाउँमा गठन भएको मार्गादेवी महिला सामुदायिक संस्थाका महिला समूहमा बचत, लगानी र असुलीको कारोबार गर्न थालेपछि उहाँको परिवारको दैनिकी नै बदलिएको छ । हमरजुङ–७ का चन्द्रा लिम्बूले समूहबाट ऋण लिएर थालेको बङ्गुरपालनबाट मनग्य आम्दानी भएपछि अलैँची र तरकारी खेतीमा समेत हात हाल्नुभएको छ ।

समूहकै सहयोगमा स्थानीय मञ्जु खुलालले फेन्सी पसल चलाउनुभएको छ । रु ३० हजारबाट सुरु गरेको सो पसलमा अहिले रु दुई लाखभन्दा बढीको लगानी गरेको उहाँले बताउनभयो । समूहमा बचत गरेर सस्तो ब्याजमा ऋण लिन पाएपछि घर व्यवहार धान्न यहाँका महिलाले विभिन्न व्यवसाय गर्दैआएका छन् ।

विसं २०५७ मा स्थानीय शासन कार्यक्रम (एलजिपी)अन्तर्गत गठन भएको मार्गादेवी महिला सामुदायिक संस्था स्थापना भएको हो । सो संस्थामा आवद्ध २३ महिलाले साप्ताहिक रुपमा रु पाँच बचत गरेका थिए । अहिले उक्त अभियानबाट संस्थामा कुल रकम रु १५ लाख जम्मा भएको छ । महिलाले सो संस्थाबाट ऋण लिने, लगानी गर्ने र आम्दानी भएपछि पुनः संस्थाको ऋण चुक्ता गर्ने गरेका छन् ।

गाविसले समेत उक्त संस्थालाई उत्कृष्ट कार्य गरेको भन्दै रकम थपिदिएपछि संस्थामा लाखौँ रुपैयाँ जम्मा भएको सो संस्थाका सचिव दीपा खुलाल बताउनुहुन्छ । “अहिले महिलालाई घर व्यवहार धान्न कुनै समस्या छैन,” उहाँले भन्नुभयो ।

संस्थाले छ महिनाका लागि ऋण लगानी गर्छ । “संस्थामा आबद्ध भएर काम गर्न थालेपछि अहिले साहुसँग ऋण काढ्न जानुपरेको छैन,” चन्द्रा लिम्बू भन्नुहुन्छ – “भनेका बेला सस्तो ब्याज दरमा रकम पाइन्छ ।”

अहिले महिलाले साप्ताहिक रुपमा रु १० बचत गर्ने गरेका छन् । मार्गादेवीका महिलाले जस्तै जिल्लाका १५ गाविसमा रहेका ५१६ वटा महिला, पुरुष र मिश्रित सामुदायिक संस्थाले बचत, ऋण र असुलीको कारोबार गरेर आयआर्जन गरिरहेका स्थानीय विकास कोषका कार्यकारी सचिव कृष्णप्रसाद घिमिरे बताउनुहुन्छ । ती संस्थाले गाउँमा कृषि, शिक्षा, स्वास्थ्य र सरसफाइमा लगानी गरिरहेका छन् । पञ्चकन्या, हमरजुङ, आङ्दिम, फुलेक, सुङ्नाम, सोल्मा, आम्बुङ, पौठाक, सिम्ले, सम्दु, खाम्लालुङ, इवा, छातेढुङ्गा, चुहानडाँडा र थोक्लुङ गाविसमा करिब १० हजार सर्वसाधारण सामुदायिक संस्थामा आबद्ध छन् ।

Views: 294

प्रतिक्रिया (०)

सम्बन्धित खबर