Aamsanchar

विभागीय टोली त्रिभुवन आर्मी झापा गोल्डकपको सेमिफाइनलमा

Author Image
मङ्गलवार, माघ १८, २०७३

 बिर्तामोड ।

विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको खेलमा आर्मीले रुपन्देही–११ लाई २–० गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । आर्मीले दोस्रो हाफको १५औँ मिनेटमा गोलको खाता खोल्यो । आर्मीका विमल पाण्डेको पासमा नवयुग श्रेष्ठले शानदार गोल गरे । दोस्रो गोल कप्तान भरत खवासले गरे । दोस्रो हाफको २८औँ मिनेटमा टेकबहादुर बुढाथोकीको पासलाई भरतले जाली चुमाउँदै २–० को जीत सुनिश्चित गरे ।
राष्ट्रिय खेलाडीले भरिएको त्रिभुवन आर्मी क्लब खेलको सुरुवातदेखि नै आक्रमक देखियो । तर, उसले गोल गर्ने दर्जनौँ अवसर भने गुमाएको थियो । यद्दपि, खेल अवधिभर आर्मीले गोल आफ्नो पकडमा राख्यो । खेल अवधिभर रुपन्देहीका गोलरक्षक दिलिप क्षेत्री निकै व्यस्त देखिए ।
खेलको ११औँ मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले हेडमार्फत गोल गर्ने अवसर गुमाए । १४औँ मिनेटमा टेकबहादुरकै अर्को प्रहार रुपन्देहीका कप्तानसमेत रहेका गोलरक्षक दिलिप क्षेत्रीले बचाए ।
२३ औँ मिनेटमा आर्मीका कप्तान भरत खवासको हेड पोष्टमा लागेर फर्कियो । ३५ औँ मिनेटमा रुपन्देहीका शिव सुवेदीले पनि हेडमार्फत गोल गर्ने सुनौलो मौका गुमाए । दोस्रो गोल गरेका आर्मीका कप्तान भरत खवासले अन्य आधा दर्जन सुनौला अवसर गुमाए ।
२६औँ मिनेटमा आर्मीका टङ्क बस्नेतले एक्लै बल अगाडि बढाए पनि गोल गर्नबाट चुके । रुपन्देहीका गोलरक्षकले उनको प्रयास विफल पारे । खेलमा रुपन्देहीका कप्तान एवम् गोलरक्षक दिलिप क्षेत्री र आर्मीका खेलाडी दिपक गुरुङले पहेँलो कार्ड पाए ।
खेलको म्यान अफ द म्याच आर्मीका नवयुग श्रेष्ठ घोषित भए । उनलाई म्याक्स हाउजिङ प्रालिका तर्फबाट नगद ७ हजार रुपैयाँ प्रदान गरियो । त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसले लक्की ड्रमार्फत दर्शकमध्येका एक दिपक श्रेष्ठलाई एक्सपर्ट म्यान अफ द डे घोषणा गर्दै नगद ५ हजार प्रदान ग¥यो ।
बुधबारको खेल आयोजक रमपम झापा–११ सुदुरपश्चिम फुटबल क्लबबीच हुने प्रचार समितिका संयोजक गजेन्द्र पौडेलले जानकारी दिए । आयोजक टोली झापा–११ बलियो टोली हो । कर्ण लिम्बू, देबेन्द्र तामाङ, सञ्जोग राई जस्ता चर्चित खेलाडीले भरिएको झापाली टोलीलाई दर्शकले भरपूर साथ दिनेछन् ।
एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

 फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर