Aamsanchar

गोल्डकपबाट ‘एक करोडको कोष’

Author Image
बुधवार, माघ १९, २०७३

बिर्तामोड ।

बजारमा विभिन्न पार्टी र संस्थाबाट चन्दा आतंक मच्चिरहेका बेला झापा गोल्डकप मूल आयोजक समितिले भने चन्दा नउठाई गोल्डकपको दीगो विकासका लागि अभियान अघि बढाएको छ ।
झापा गोल्डकपको बैधानिक र संस्थागत विकासका लागि जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर संस्थापक सदस्यता प्रदान गर्ने कार्य जारी रहेको बताइएको छ । रमपम झापा गोल्डकप मूल आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीका अनुसार अहिलेसम्ममा एक सय जनाभन्दा बढीले गोल्डकपको संस्थापक सदस्यता लिइसकेका छन् । गोल्डकपको संस्थापक सदस्यको संख्या दुई सयभन्दा माथि पुग्ने गिरीले बताए । संस्थापक सदस्यता शुल्क न्यूनतम् २१ हजार रुपैयाँ तोकिएको छ । बर्षेनि चन्दा मागेर गोल्डकप सञ्चालन गर्दा गोल्डकपको विकास दीगो रुपमा हुन नसक्ने निष्कर्षसहित समितिले अबको बर्षबाट गोल्डकप सञ्चालन गर्न चन्दा उठाउनुनपर्ने अवस्थाको सृजना गर्ने बताइएको छ । यस बर्षको गोल्डकपका लागि विभिन्न कर्पोरेट हाउसबाट ५२ लाख रुपैयाँभन्दा बढी संकलन भएको छ भने संस्थापक सदस्यहरुबाट ५० लाख रुपैयाँ जम्मा हुने बताइएको छ ।
त्यस्तै ‘गेट मनी’ बाट पनि अघिल्लो बर्षको तुलनामा उल्लेख्य रकम जम्मा हुने बताइएको छ । गोल्डकप मूल आयोजक समितिले करिब १ करोड रुपैयाँ अक्षयकोषमा राख्ने र बर्षेनि अक्षयकोषमा रकम थप गर्दै त्यसको व्याजबाट गोल्डकपका साथै झापा ११ फुटबल क्लब सञ्चालन गरिने जनाइएको छ । झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले गोल्डकप र क्लबको विकासका लागि दीगो सोचका साथ अघि ढेको बताए । संस्थापक सदस्यको व्यवस्था गरी गोल्डकपलाई दर्ता गरेर बैधानिक ढंगले अघि बढाउनु खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण कदम भएको बिर्तामोडका व्यवसायी तथा समाजसेवी राजेन्द्रकुमार थापा बताउँछन् ।
बर्षेनि उद्योगी व्यवसायी तथा विभिन्न संस्थाको लिस्ट बनाएर चन्दा उठाउने परम्पराको अब झापा गोल्डकपले अन्त्य गरेर रचनात्मक अभियान सञ्चालन गरेको गोल्डकपका उपाध्यक्ष बलराम कार्कीको भनाइ छ । गोल्डकप आयोजक मूल समितिका अध्यक्ष गिरी र झापा ११ फुटबल क्लबका अध्यक्ष गुरुङले संस्थापक सदस्यता लिएर झापालाई फुटबल पर्यटनको रुपमा विकास गर्ने कार्यमा योगदान गर्न सबैमा आव्हान गरेका छन् । अहिले विभिन्न क्षेत्रबाट उद्योगी, व्यवसायी, समाजसेवीहरुले गोल्डकपको संस्थापक सदस्यता लिने कार्य जारी छ । राजनीतिकर्मीहरु समेत गोल्डकपको संस्थापक सदस्य बनिरहेको बताइएको छ । मंगलवार झापा गोल्डकपको संस्थापक सदस्य बनेका रेडियो सनराइजका अध्यक्ष कुमार भट्टराईले झापाको फुटबल विकासका लागि चलाइएको अभियान प्रशंसनीय भएको बताए । उनले सदस्यता नलिनेहरुलाई संस्थापक सदस्यता लिएर योगदान गर्न पनि आग्रह गरे ।
तीन महिनामा तीन ठूला प्रतियोगिता
खेलकुदको क्षेत्रमा आफूलाई अब्बल सावित गर्न सफल झापा पछिल्लो तीन महिनाको अवधिमा तीन ठूला प्रतियोगिताका फुटबल खेलको आयोजना गर्न सफल भएको छ ।
मंसीरमा सहारा सुरुङ्गा गोल्डकपको आयोजना गरेर राष्ट्रियस्तरका खेलाडीलाई झापामा उतारेको केही समयपछि नै आर्थत् मंसीर महिनामै शरणामतीमा अर्को गोल्डकपको आयोजना गरियो । चिसो मौसममा फुटबलले निकै तातेको झापा पुस लाग्नासाथ काँकरभिट्टा गोल्डकपले झनै तातेको थियो । एकपछि अर्को गर्दै राष्ट्रियस्तरको खेल आयोजना गरेको झापाले अहिले रमपम झापा गोल्डकपको आयोजना गरिरहेको छ । गत माघ १५ गतेबाट शुरु भएको झापा गोल्डकपमा एक विदेशीसहित १० वटा टिमले सहभागिता जनाएको आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले दिएको जानकारी दिएका छन् ।
मोफसलकै सर्वाधिक नगद पुरस्कार राशी ७ लाख रुपैयाँ रहेको दोस्रो रमपम झापा गोल्डकप २०७३ मा उपविजेता टीमले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने बताइएको छ । प्रतियोगितामा पूर्वी नेपालदेखि सुदुरपश्चिमसम्मका ९ वटा टीम र भारतको एउटा टीम गरी १० वटा टिमबीच प्रतिस्पर्धा भइरहेको छ । आफ्ना खेलाडीलाई हौसला प्रदान गर्न गोल्डकपको फाइनल यात्रा तय गरेमा जनही २५ हजार रुपैयाँ र फाइनल खेल जितेमा जनही ५० हजार रुपैयाँ प्रदान गर्ने झापा ११ क्लबका अध्यक्ष जलकुमार गुरुङले बताए ।
राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेर फुटबलको क्षेत्रमा झापालीले देखाएको तदारुकतालाई सबैले साथ दिएकै छन् । मंसीरमा भएको सहारा सुरुङ्गा गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपीएफले हात पा¥यो । त्यस्तै शरणामती गोल्डकपको उपाधि चर्च ब्वाइज क्लबले चुम्यो भने काँकरभिट्टा गोल्डकपको उपाधि झापा ११ ले हात पार्दै उपाधिको खडेरीलाई तोडेको थियो ।
निकै महत्वका साथ हेरिएको झापा गोल्डकपको उपाधि कुन टिमले जित्छ भन्न अहिले नै सक्ने अवस्था नरहेको खेलकुदका जानकारहरु बताउँछन् । खेलमा राम्रो खेलेर मात्र नहुने भन्दै गोल गर्न सक्नुपर्ने उनीहरुको भनाइ छ । एकपछि अर्को खेलको आयोजना गरे पनि झापामा कुनै पनि रंगशालाले राम्रो प्रगति भने गर्न सकेका छैनन् । सदरमुकाम चन्द्रगढीमा रहेको मेची रंगशाला, बिर्तामोडमा रहेको डोमालाल राजवंशी रंगशाला, काँकरभिट्टा माविको खेल मैदान, सुरुङ्गास्थित कनकाई क्याम्पसको खेल मैदान, दमकस्थित आदिवासी रंगशाला लगायतका खेल मैदानको विकासमा सरकारले चासो नदिँदा खेल सञ्चालन गर्न कठिन हुने गरेको छ ।
प्यारापिट, खेलमैदानको जग्गा विवाद लगायतका समस्याका बावजुद पनि राष्ट्रियस्तरका खेलहरु आयोजना गर्नु झापा र झापालीका लागि गौरवको विषय बनेको छ । जात, धर्म, राजनीति, समुदाय, भाषा, संस्कृति धनी–गरीब, बालक–बृद्ध सबैलाई एकै ठाँउमा उभ्याउन सफल हुने खेलको विकासमा राज्यले चासो दिन आवश्यक छ ।
दिनहुँ जसो हुने खेल प्रतियोगिताले धेरै खेलाडीहरुलाई समेत जन्माई रहेको छ । झापाका खेलाडीहरु राष्ट्रको निम्ति खेल खेल्न विभिन्न देश पनि गएका छन् ।
नेपालले कुनै पनि प्रतियोगिता जित्दा जो कोही पनि गर्वले छाती फुलेर हिमालझैं हुने गरेको छ । सबैलाई एकै सूत्रमा बाँध्न सफल खेलकुदको विकासको निम्ति राज्यले चासो देखाउन ढिलाइ भई सकेको खेलप्रेमीहरुको भनाइ छ ।

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर