Aamsanchar

निर्वाचनको मिति घोषणा गर्न नेम्वाङको आग्रह

Author Image
शनिवार, माघ २२, २०७३

इलाम ।

नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय निकायको निर्वाचन तत्काल घोषणा गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

नेकपा (एमाले) साकफारा गाउँ कमिटीको पाँचौँ गाउँ अधिवेशनको आज उद्घाटन गर्दै नेम्वाङले सरकारले अनेक बहाना बनाउँदै निर्वाचनको मिति घोषणा गर्न नसकेको बताउँदै तत्काल मिति घोषणा माग गर्नुभएको हो ।

“अहिलेको आवश्यकता संविधान संशोधन होइन, संविधान कार्यान्वयन हो”, भन्दै उहाँले प्रश्न गर्नुभयो– “संविधान संशोधन किन र कसका लागि ?” दुई तिहाइ भन्दा बढीले हस्ताक्षर गरेको संविधान कार्यान्वयन गरेर अघि बढ्न वर्तमान सरकारलाई आग्रहसमेत गर्नुभयो ।

सरकारको गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र काँग्रेसले आफ्नो निहित स्वार्थका लागि मात्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको बताउँदै उहाँले संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने विचार व्यक्त गर्नुभयो ।

सबै राजनीतिक दलको सहमतिमा तीनै तहको निर्वाचन गरेर मुलुकलाई निकास दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले जिल्लाको पश्चिमी क्षेत्र विकासको दृष्टिकोणले पछि परेको बताउँदै यहाँको सडक, पुल, विद्युत्, शिक्षा क्षेत्रको विकासका लागि आफूले केन्द्रीयतहमा आवश्यक बजेट विनियोजनका लागि पहल गरिरहेको बताउनुभयो । सोही अवसरमा उहाँले ५५ जना वृद्धवृद्धालाई कदर पत्र प्रदान गर्नुभयो ।

एमाले साकफारा गाउँ कमिटीका अध्यक्ष भीमबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष राम राना, जिल्ला कमिटी सदस्य ओमनारायण खनाललगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर