सिमकोट :
श्रीनगर ३ की पवित्रा देवकोटा महतारा २ वर्षीया छोरीलार्ई रुघाखोकी लागेको तेस्रो दिन उपचारका लागि इलाका स्वास्थ्य चौकी पुगिन्। सामान्य स्वास्थ्य परीक्षणपछि स्वास्थ्यकर्मीले कोट्रीमोक्साजोल र मेट्रोनिडाजोल खान सिफारिस गरे।
स्थानीय स्वास्थ्य संस्थामै निःशुल्क औषधि पाइने सुनेकी पवित्राले कुनै औषधि पाइनन्। निःशुल्क औषधि नपाएपछि गाउँकै मेडिकलमा गएर चर्को मूल्यमा औषधि किनेर उनी घर फर्किन्। एक सातादेखि रुघाखोकी र सामान्य ज्वरो आएपछि गाउँकै स्वास्थ्य चौकीमा गएका जैरको देव निम्नमाध्यमिक विद्यालयका प्रधानाध्यापक कालीबहादुर रावलले जैरको स्वास्थ्य चौकीबाट एक पत्ता सिटामोल पनि नपाएपछि आफन्तसँग भएको सिटामोल र जडीबुटीले काम चलाए।
रोडीकोट ८ की महिला स्वास्थ्य स्वयंसेविका देवीसरा कार्की स्थानीय रोडीकोट स्वास्थ्य चौकीसँगको सल्लाहमा गाउँका बालबालिका र गर्भवती महिलाका लागि भनेर सिटामोल, जुकाको औषधि सधैं राख्ने र समस्यामा परेकालाई जुनसुकै बेला पनि उपलब्ध गराउने गर्थिन् तर पुस महिनायता स्वास्थ्य चौकीमा औषधि नभएका कारण बिरामीलाई रित्तो हात घर पठाउने गरेकी छन्।
पवित्रा, कालीबहादुर र देवीसरा हुम्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाबाट औषधि नपाउने उदाहरण मात्रै हुन्। खत्री र जोशी पनि प्रतिनिधि पात्र मात्रै हुन्। हुम्ला सदरमुकाम सिमकोट र आसपासका पाँचवटा स्वास्थ्य चौकीबाहेक जिल्लाका २५ वटा स्वास्थ्य संस्थामा पुस महिनादेखि औषधि अभाव हुँदा बिरामी रित्तो हात फर्कन बाध्य छन्। गाउँका स्वास्थ्य संस्थामा सिटामोलसमेत नभएपछि आफूले रुघाखोकी लाग्दा स्थानीय जडीबुटीले काम चलाएको बताउँछन् पीडित।
निःशुल्क औषधि दिन्छौं भन्ने सरकारले आफूहरूलाई बेवास्ता गरेको बताउँदै बोहराले भने, ‘मनेलेकदेखि दक्षिणका बासिन्दालाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गरिएको छ।’ स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिने भन्दै गरेको बाचातर्फ इंगित गर्दै बोहराले भने, ‘हामीलाई न उपचार गर्ने राम्रा स्वास्थ्य संस्था छन्, न त नियमित स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नै बस्छन् । भएका स्वास्थ्य संस्थामा पनि औषधि छैन।
राजधानीलाई हेरेर मन्त्रीले घोषणा गर्नुभन्दा हुम्लाका दुर्गम स्वास्थ्य संस्थामा आएर बाचा गर्दा राम्रो हुन्थ्यो।’ कालिका ६ पाल्स ओखाडीकी प्याउका रोकाया बुढाले पनि आफू गएको बुधबार कालिकाको बारीगाउँको स्वास्थ्य चौकीमा जाँदा सिटामोलसमेत नपाएको बताइन्। सामान्य रुघाखोकीको औषधि चर्को मूल्य (९ सय ५ रुपैयाँ) मा खरिद गरेको जनाउँदै प्याउकाले सामान्य बिरामी पर्दासमेत गाउँका स्वास्थ्य संस्थामा औषधि नपाइने गरेको पीडा पोखिन् । उनले थपिन्, ‘मेडिकल पनि नजिक छैन।
यस्तोमा कतिखेर ज्यान जाने हो भन्ने चिन्ताले सताउँछ।’ लामो समयदेखि जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि नआएको बताउँदै कालिका स्वास्थ्य चौकीका इन्चार्ज मोहनसिंह घर्तीले स्वास्थ्य चौकीमा औषधि शून्य भएको स्वीकार गरे। उनका अनुसार गाउँका केही स्वास्थ्य चौकीमा अहिले सिटामोल, एफोक्सिलिन, आयुटीएफ मात्रै भए पनि प्रायः स्वास्थ्य संस्थामा औषधिको मौज्दात शून्य नै छ।थाहाखबरबाट