Aamsanchar

झापामा पत्रकार महासंघको चुनावका लागि ५ संगठनवीच कार्यगत एकता

Author Image
सोमवार, माघ २४, २०७३
बिर्तामोड। 
 नेपाल पत्रकार महासंघ झापा शाखाको आसन्न १२ औं अधिवेशनको चुनावी मैदानमा जिल्लाका पत्रकारहरुको पाँच वटा क्रियाशील संगठनले कार्यगत एकता गर्ने घोषणा गरेका छन् ।
फागुन ७ गते हु्ने निर्वाचनका लागि पाँच  संगठनबीच कार्यगत एकता गरी ‘व्यवसायिक पत्रकारको संयुक्त समावेशी प्यानल’ निर्माण गर्ने सहमति भएको आज सोमबार जारी संयुक्त विज्ञप्ति मार्फत् जनाइएको छ ।
नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईं, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष टिकाराम उप्रेती, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईं, संघीय प्रेस फोरम नेपालका केन्द्रीय सदस्य डिकेश लामा र आदिवासी पत्रकार संघ झापाका अध्यक्ष पुकार राजवंशीले ती संगठनहरुवीच कार्यगत एकता गर्ने सहमति गर्दै हस्ताक्षर गरेका छन् ।
स्वतन्त्र पत्रकारहरुको समूहले समेत उक्त वृहत प्यानलसंग कार्यगत एकता गरेको छ । उक्त पाँच वाहेक बाँकी रहेका पत्रकारका दुई संगठन प्रेस चौतारी र फोनिजलाई पनि कार्यगत एकताका लागि आह्वान गरिएको छ ।
ती दुई संगठनबीच पनि कार्यगत एकता भए झापामा यो पटक महासंघको नेतृत्व सर्वसम्मत चयन हुने प्रेस युनियन झापाका कृष्ण हुमागाईंले बताए ।
तीन वर्षअघि प्रेस युनियन, प्रेस सेन्टर, आदिवासी पत्रकार संघ र स्वतन्त्र पत्रकारको प्यानलमा यस वर्ष मिडिया नेपाल र संघीय प्रेस फोरम समेत समावेश भई बृहत एकता कायम भएको हो ।  सवै संगठनले उक्त प्यानलबाट उठाउने अधिकांश उमेद्वारको नाम टुंगो  लगाइसकेको र एक÷दुई दिनमै नाम घोषणा गरिने बताइएको छ ।
तीन वर्षअघि निर्वाचित उक्त संयुक्त प्यानलको नेतृत्वले महासंघ झापा शाखामा रहेर पत्रकारको हितमा काम गर्दै पत्रकार महासंघको गरिमा र मर्यादा उच्च राख्न निर्वाह गरेको भूमिका सबै झापाली पत्रकारले उच्च मूल्यांकन गरेको विज्ञप्तिमा जनाइएको छ ।
तीन वर्षअघि गरिएका महत्वपूर्ण कार्यलाई निरन्तरता दिंदै थप उन्नत र नविनतम् कार्यका लागि बृहत संयुक्त प्यानल बनाइएको प्रेस सेन्टरका अध्यक्ष टिकाराम उप्रेती बताउँछन् ।
पत्रकार महासंघलाई साझा र समावेशी मात्र होइन, व्यवसायिक पत्रकारको क्षमता वृद्धि, पत्रकारको सुरक्षा प्रत्याभूति, श्रमजीवि ऐनको कार्यान्वयन, झापाका सञ्चार संस्थाको विकासमा सहकार्य गर्ने उद्देश्यले संयुक्त प्यानल निर्माण गरिएको बताइएको छ ।
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर