Aamsanchar

रहेनन् व्यासाचार्य निरौला

Author Image
मङ्गलवार, माघ २५, २०७३

[कुमार भट्टराई]

झापा । 

जबसम्म मान्छे आफ्ना लागि मात्र कर्म गर्छ र त्यसको लागि मात्र रमाउँछ, ऊ व्यक्ति हुन्छ । त्यही व्यक्ति जब अर्काको लागि पनि कर्म गर्न थाल्छ । अर्काको दुःख र सुखलाई आफ्नो दुःख–सुख ठान्न थाल्छ । अर्काकै लागि रमाउने र अर्काकै लागि दुःखी हुन थाल्छ ।

ऊ सामाजिक हुन्छ । त्यही सामाजिक व्यक्ति, जसको कर्म समग्रतामा अधिकले मन पराउन थाल्छन् । उसका बोली, बचन र निर्देशनहरूले सामाजिक महत्व राख्छ, तब ऊ सामाजिक व्यक्ति मात्र रहँदैन, आफैमा ऊ संस्था बन्दै जान्छ । किनभने उसका बोलीलाई, व्यवहारलाई सही ठान्ने समाज पनि निर्माण हुँदैजान्छ ।

मैले सन्दर्भ उठाउन खोजेको हो, व्यक्तिभित्र समाज बोकेर बसेका व्यासाचार्य पुष्पलाल निरौलाको । पुष्पलाल निरौला कति नामहरू होलान् । जसलाई सानो टोल, क्षेत्र गाउँहरूले मात्र सम्झिदिए पुग्दो हो । शास्त्रीय अध्ययन गरेर आचार्य भएका आचार्य पुष्पलाल निरौला पनि कोही हुँदा हुन् धर्तीमा । तर आचार्य पुष्पलाल निरौला भएपछि अर्जुनधारा जलेश्वरधामले प्रदान गरेको उपाधिसहितको धार्मिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका व्यासाचार्य पुष्पलाल निरौला भने यो धर्तीमा एक्लो छन् ।

ती शनिअर्जुन नपा वार्ड नंं २, झापामा बस्छन् । जो हाल ब्रेनट्युमर जस्तो गम्भीर रोगको शल्यक्रिया पछि घरमा बसेर आराम गरिरहेका छन् । विरामी भएर वा उपचारका क्रममा हरेक मान्छे कि घर, कि अस्पताल बस्छ । सबैको चर्चा हुँदैन र गरेर साध्य पनि हुँदैन । तर जब संस्था विरामी हुन्छ वा संस्थाले गरेका गतिविधिले हलचल ल्याउने खालका हुन्छन्, त्यसको चर्चा हुन्छ । व्यासाचार्य पुष्पलाल निरौला हिन्दूधर्म प्रचारक मध्ये देशभित्र सुनिने अगुवा नामहरू मध्ये नै पर्छन् । उनी विश्वहिन्दू महासंघ नेपालको केन्द्रीय उपाध्यक्ष जस्तो पदमा पदासिन भइसकेका छन् भने हाल महर्षि वैदिक फाउण्डेशनको नेपालका कुलपति पदमा रहेका छन् ।

विभिन्न धार्मिक तथा समाजिक संस्थाहरूको सल्लाहकार, संरक्षक रहेर कयौं विकासका कामहरू अघि बढाएका छन् । सामुदायिक भवनहरू, मठमन्दिरहरू, स्कूल निर्माणका लागि उनले निःशुल्क पुराणवाचन गरी रकम संकलन गर्न समाजलाई सहयोग गर्दै आएका छन् । झापा जिल्लाका एघार वटा, इलाममा दुई र फिदिममा एक गुरुकुलहरूलाईलाई उनी कुलपति रहेको महर्षि वैदिक फाउण्डेसनबाट मासिक पचपन्न हजार रूपैयाँ अनुदान प्राप्त हुने वातावरण बनाएका छन् ।

०४१–०४२ सालतिर जब उनले अर्जुनधारा मन्दिरमा आए, त्यसका लागि उनले निरन्तर पुराण वाचन गरे । ०४० सालदेखि मन्दिर संरक्षणमा नयाँ थालनी भएपछि मन्दिरको संरक्षण, पूजाअर्चनादेखि हरेक धार्मिक कामका लागि ल्याइएका आचार्य पुष्पलाल निरौलाले अठार वटा पुराण सम्पन्न भएको स्थानलाई धाम भनिने भएकाले त्यसका लागि निरन्तर पुराण वाचन गरेर अर्जुनधारा मन्दिरबाट अर्जुनधारा धाममा परिणत गर्ने कर्म गरे ।

समाजको अथक लगानी र त्यसका लागि कुसल नेतृत्वले अर्जुनधाराको लागि श्रीबृद्धि ग¥यो, त्योसँग धार्मिक अगुवाका रूपमा पुष्पलालले मन्दिरलाई धाम र धामलाई पूर्वको पशुपतिनाथ बन्ने कर्ममा अहोरात्र समयार्पन गरेकै हुन् । आर्थिक रूपमा सम्पन्न परिवार उनको होइन । इतिहास फर्केर हेर्ने हो भने पनि समाजका लागि शिक्षित वर्ग मानिने र सधैं कर्मकाण्डलाई नै आफ्नो पेशा बनाउने कुनै पनि ब्राम्हण कहिल्यै सम्पन्न भएको देखिंदैन । आचार्य पुष्पलाल पनि त्योबाट अछुतो रहेनन् ।

त्यसैले अरुको जस्तो आम्दानीको ठूलो स्रोत, सम्पन्नता उनीसँग भएको देखिँदैन । विद्वतामा उनी जति सम्पन्न छन्, त्यति आर्थिक सम्पन्न छैनन् । उनले जति समय समाजमा चेतना अभिबृद्धि गर्न, ज्ञान छर्न र एउटा सभ्य समाज निर्माणमा आफूलाई समर्पित गरे, त्यति नै समय आर्थिक उपार्जनमा लगाएका भए समाजभित्र सम्पन्नहरूको रेखाभित्र उनी पनि पर्थे होला । यो सबै लेख्नु, उनको गुनगानका लागि होइन । तर आज लेखिएन भने भोलि अहिलेको जस्तो अवस्था नहोला । व्यासाचार्य पुष्पलाल निरौलाको रोगका बारे कुनै प्रष्ट छैन । न त छ उनका लागि कुनै उपचारको भरपर्दो टेवा ।

उनी जुन रूपमा सामाजिक भए वा जुन संस्थाहरूको लागि समर्पित भए, कसैले पनि उनको रोग र उपचारको बारेमा सार्वजनिक रूपमा कसैलाई प्रष्ट पारेको पाइएको छैन । अर्जुनधारा धाम होस् या वैदिक महर्षि फाउण्डेसन कसैले पनि सार्वजनिक रूपमा उनका बारेमा कुनै कुरा सार्वजनिक गरेको पाइएको छैन । प्रश्न उठ्छ– ‘विरामी हुने बित्तिकै व्यासाचार्य निरौला संस्थाबाट व्यक्ति भए ?’ उनी बारे बजारभरि अनेकौं अड्कलवाजी चलेका छन् । सबैले आआफ्नै किसिमका रोग र त्यसका उपचारहरू बारे भ्रम फैलाइएको छ । गम्भीर रोग हो भने त्यसको उपचार पनि गम्भीर हुनुपर्ने हो । तर उपचारका लागि कोही गम्भीर भएको देखिएन । वी एण्ड सीले उनको उपचारका लागि सफलतापूर्वक पहिलो शल्यक्रिया ग¥यो त्यस प्रकारको ।

सफलता प्राप्त भयो र उसका लागि विज्ञापन पनि भयो । तर असफल भएको भए पुष्पलाल जत्तिको व्यक्ति जन्माउन समाजलाई समय लाग्ने थियो । जे होस्, समग्रतामा मौनरूपमा एक्लै रोगसँग जुधिरहेका छन् व्यासाचार्य पुष्पलाल । हिजो उनीसँग आशिर्वाद मागेर आफूलाई सफल बनाउनेहरू, उनका उपदेशले आफूलाई परिवर्तन गर्नेहरू र उनको देनले परिवर्तन पश्चात लाभ लिने समाजहरू धेरै छ । उनलाई प्रयोग गरेर आफूलाई अगुवा देखाउनेहरू पनि धेरै छौं । रोगको आन्तरिक लडाइँ त पुष्पलाल आफैंले लड्नुपर्नेछ ।

तर उनको रोगको सघन उपचारका लागि व्यवस्थित, सुविधासम्पन्न स्थानमा पु¥याउन सबैको चासो हुन जरुरी देखिएको छ । उनलाई अगुवा बनाएर लाभ लिने संस्थाहरूले सकिने उपचार विधि र प्रयास गर्ने कर्ममा त्यसको अगुवाई गर्न र उनको अवस्थाको सार्वजनिक गर्न जरुरी भएको छ । शास्त्रीय कुराहरूमा मेरा लागि सँधै मार्गदर्शक भएका आदरणीय गुरु पुष्पलाल निरौला रहेनन्  अव हामी माझ । उहाँको आत्माको चीरशान्तिको कामना गर्दछु ।

Views: 290

प्रतिक्रिया (०)

सम्बन्धित खबर