Aamsanchar

निर्वाचन हुन्छ, तयारीमा लाग्नुस् – मन्त्री डा महत

Author Image
मङ्गलवार, माघ २५, २०७३

काठमाडौँ।

परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले पूर्वनिर्धारित मितिमै स्थानीय तथा केन्द्रीय तहको निर्वाचन हुनेमा आशङ्का नगरी निर्वाचनको तयारीमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।

नेपाल आदिवासी जनजाति सङ्घ, काभ्रेपलाञ्चोकको दोस्रो जिल्ला अधिवेशनको आज धुलिखेलमा उद्घाटन गर्दै मन्त्री डा महतले निर्वाचनको तयारीमा लाग्न नेपाली काँग्रेसका समग्र कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।

नेपालमा द्वन्द्वको समाधान गरी संविधानसभाको निर्वाचन र नयाँ संविधान लेख्नेसम्मको इतिहासको महत्वपूर्ण क्षण र घटनाक्रमको नेतृत्व नेपाली काँग्रेसले नै गरेकाले अब संविधानको कार्यान्वयनका लागि पनि काँग्रेस समयमै निर्वाचन गराउने कामबाट नचुक्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ कतिपयले काँग्रेसलाई निर्वाचन नचाहिएको भनी गलत टिप्पणी पनि गर्ने गरेका छन् तर त्यसो होइन, यो संविधान निर्माणको नेतृत्व गरेको काँग्रेसले नै यसको कार्यान्वयनका लागि अगुवाइ गर्नेछ र त्यसका लागि संविधानमा व्यवस्था भएबमोजिमको समयमा निर्वाचन हुनु जरुरी छ ।”

मन्त्री डा महतले नेपालका विभिन्न जातजाति, भाषा र सम्प्रदायका नागरिकलाई देश निर्माणका अभियानमा सहभागी गराउन र नेपाली काँग्रेसको सङ्गठनमा पनि उनीहरुको उचित प्रतिनिधित्व बढाउनका लागि काँग्रेसले नै पहिलोपटक समावेशीतामा आधारित पार्टी विधानको व्यवस्था गरेको उहाँले स्मरण गर्नुभयो । तर यसको अर्थ नेपालमा जातीय राज्य वा जातका आधारमा राजनीतिक विवाद बढाउनका लागि नभएर राज्य व्यवस्थामा पनि देशका सबै वर्ग र क्षेत्रका नागरिकको सहभागिता होस् भनेर काँग्रेसले यो नीति लिएको उहाँको भनाइ थियो ।

उहाँले जातजाति, दलित समुदाय वा भूगोललगायतका विविध कारणले पछि परेका नागरिकलाई आरक्षणभन्दा पनि शिक्षा आर्जन गरी प्रतिस्पर्धाका आधारमा अघि बढ्न सक्नेगरी क्षमताको विकास गर्न आग्रह गर्नुभयो ।

उहाँले अहिले देशमा संविधान संशोधन पहिला कि निर्वाचनको घोषणा भनेर विवाद बढाइएको र यसका कारण थप अन्योलको अवस्था आउनेजस्तो प्रचार गरिएको स्मरण गर्दै तर नेतृत्वले अन्तिम समयसम्ममा सही निर्णय गर्ने र छिट्टै देशलाई निकास दिनेमा आफू विश्वस्त रहेको धारणा पनि राख्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर