Aamsanchar

झापामा रक क्लाइम्बिङ सम्पन्न

Author Image
शुक्रवार, माघ २८, २०७३

धाइजन,

ए.एस. फाउण्डेशन रिक्रिएशन ट्रेनिङ सेन्टर काँकरभिट्टाले झापामा पहिलोपटक सुरु गरेको रक क्लाइम्बिङ बिहीबार सम्पन्न भएको छ ।

विद्यार्थीलाई लक्षीत गरी शारीरिक, मानसिक, सम्वेगात्मक, नेतृत्व लगायत उनीहरुको चौतर्फी क्षमता अभिवृद्धि गर्ने मूल उद्धेश्यले सुरु सो कार्यक्रम धाइजनस्थित बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको पर्यटकीय तथा सिमसार क्षेत्रमा सम्पन्न भएको हो ।

दुई दिवशीय रक क्लाइम्बिङको अन्तिम दिन बिहीबार धाइजनस्थित बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको सिमसार तथा पर्यटकीय क्षेत्रमा धलाबारीस्थित इष्ट होराइजन उमावि, हिमालयन एकाडेमी, फाइब स्टार इङलिस स्कूल, लिभिङ फाउण्डेशन, पारिजात पब्लिक स्कूल र चारआलीस्थित लिटल एञ्जल स्कूलका विद्यार्थीहरुले रक क्लाइम्बिङमा सहभागिता जनाएका थिए ।

बिहान ८ देखि अपरान्ह ४ बजेसम्म सञ्चालित रक क्लाइम्बिङमा इष्ट होराइजन उमाविका शिक्षक विमल शाही, फाइब स्टार इङ्लिस स्कूलका निर्देशक प्रमाणु प्रधान, शिक्षिका लुईसा लिम्बू, लिभिङ् फाउण्डेशनका शिक्षक रिपु खब्यो, पारिजात पब्लिक स्कूलका स्काउट शिक्षक अनिष चौंलागाईं लगायत विद्यालय बाहिरका युवा गरी करिब १ सय ५० जनाले स्वतस्फूर्त रुपमा सहभागिता जनाएका आयोजक संस्थाका म्यानेजर उद्धव गौतमले बताए ।

क्लाइम्बिङमा सहभागीहरुलाई सम्भावित जोखिमबाट मुक्त राख्न क्लाइम्बिङ हेल्मेट, रोप, हार्नेस, जुमर, एटिसी गाइड, क्योरबिनर लगायत अत्याधुनिक प्रविधिद्धारा निर्मित विदेशबाट आयात गरिएका जोखिममुक्त सामग्रीको प्रयोग गरी रक क्लाइम्बिङ गराइएको थियो ।

उनीहरुलाई क्लाइम्बिङ स्थलमा प्रत्यक्ष रुपमा उपस्थित भएका क्लाइम्बिङ स्ट्रक्टरहरु कल्पना पोखरेल, सोना ठकुरी, बिमला थापा, दीपा लोहार, अजय पासवान र जुगल भूजेलले सहजिकरण गरेका थिए ।

रक क्लाइम्बिङ समापनपछि आयोजित कार्यक्रममा रक क्लाइम्बिङमा भाग लिने विद्यालय, शिक्षक, विद्यार्थी र विद्यालय बाहिरका युवाहरुलाई इन्टरनेशनल आउट डर स्ट्रक्टर लण्डन तथा द ड्युक अफ इडन वर्गस् इन्टरनेशनल अवार्डबाट गोल्ड अवार्ड होल्डर अनिष लुईंटेलले शुभकामनासहित अन्र्तराष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै रक क्लाइम्बिङ आयोजक फाउण्डेशनका प्रमुख समेत रहेका सगरमाथा आरोही झापाली युवा लुईंटेलले युवा तथा विद्यार्थी वर्गलाई लक्षित गरी आगामी भदौदेखि वाल क्लाइम्बिङ र आर्टिफिसियल रक क्याइम्बिङ समेत सञ्चालन गरिने जानकारी गराएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर