Aamsanchar

क्यान्सरका विषयमा जनचेतनामूलक कार्यक्रम

Author Image
शनिवार, माघ २९, २०७३

काठमाडौँ ।

खानपानलगायत जीवनशैलीका कारण क्यान्सर रोग बढिरहेकोमा रोग लाग्नुअगावै सचेत बनाउने उद्देश्यले जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।

लायन्स क्लब अफ जोरपाटी, काठमाडौँको आयोजना र स्थानीय चारवटा सहकारी संस्थाको सहयोगमा सम्पन्न कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बरालले सबैभन्दा बढी फोक्सोको क्यान्सर देखिएकाले रोग लाग्नुअघि नै सचेत बन्न आग्रह गर्नुभयो ।

सबैभन्दा बढी फोक्सो, दोस्रोमा स्तन र तेस्रोमा महिलाको पाठेघरको क्यान्सर देखिने गरेको उहाँले बताउनुभयो । “पाठेघरको मुखको क्यान्सर लाग्नुभन्दा १० वर्षअघि नै लक्षण देखिन्छ, नियमित परीक्षण गराई सचेत भए रोगबाट बच्न सकिन्छ, रोग लागेपछि धेरै खर्चिलो हुन्छ” – उहाँले भन्नुभयो ।

कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक गभर्नर कुमारराज सुवेदी, पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन खगेन्द्र सिटौला र आयोजक संस्थाका अध्यक्ष होमकान्त चौलागाईंलगायतका वक्ताले क्यान्सर रोगबाट बच्न नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमअघि जोरपाटी चोकदेखि नारायणटारसम्म जनचेतनामूलक ¥यालीसमेत प्रदर्शन गरिएको थियो ।

विश्वमा मृत्युको १३ प्रतिशत कारण क्यान्सर भएको, वार्षिक ४२ लाख मानिस क्यान्सर रोगले मर्ने र अहिलेसम्म १०० थरिका क्यान्सर रोगको पहिचान भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

संस्थाले प्रजातन्त्र दिवसका अवसरमा फागुन ८ गतेदेखि महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण निःशुल्क गर्ने जनाएको छ । शिविरमा काठमाडौँ, सिन्धुपाल्चोक र नुवाकोटका मानिसको समेत परीक्षण गराइनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर