काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।
पार्टीको आसन्न महाधिवेशनलाई दिशानिर्देश गर्नका लागि आज सुरु भएको बैठकमा केन्द्रीय अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुभएको राजनीतिक कार्यपत्र तथा राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रस्तुत गर्नुभएको आर्थिक कार्यपत्रमा छलफल नसकिएकाले बैठक सोमबारसम्मका लागि स्थगित गरिएको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
मुलुकको समसामयिक विषयमा समेत बैठकमा छलफल भएको छ । बैठकमा अब पार्टीले अवलम्बन गर्ने सैद्धान्तिक तथा वैचारिक आदर्शका बारेमा छलफल गरी गणतन्त्र वा राजतन्त्रका बारेमा निर्णय लिइनेछ । मुलुकको समुन्नतिका लागि अब कस्तो आर्थिक नीति लिनुपर्ने हो, त्यसमा पार्टीको आर्थिक दृष्टिकोण तथा सोही निर्णयलाई लिएर महाधिवेशनमा टुङ्गो लगाइनेछ ।