राजगढ।



सामुदायिक विद्यालयमा एउटै कक्षामा २ सय १० जना विद्यार्थी अध्ययन गर्छन् भन्दा तपाइँलाई पत्यार नलाग्न सक्छ । तर, झापाको एउटा विद्यालयमा कक्षा ९मा २ सय १० जना र कक्ष १०मा एक सय ९८ जना विद्यार्थी एउटै सेक्सनमा अध्ययनरत् छन् ।
सरकारले एउटा कक्षामा तराईका विद्यालयमा ५५, पहाडमा ३५ र हिमाली जिल्लाका विद्यालयमा ३० जना अध्यापन गराउनुपर्ने प्रावधान निर्धारण गरेको छ । अर्थात् शिक्षक, विद्यार्थी अनुपात औसत एक बराबर ४० पर्दछ । सरकारको मापदण्डको झण्डै चार गुणा बढी विद्यार्थी एउटै कक्षामा अध्ययनरत् रहँदा त्यहाँ अध्यापनरत् शिक्षकले हातेमाइकको प्रयोग गर्नु परेको छ ।
दक्षिणी झापाको पशुपति माध्यमिक विद्यालयमा विद्यार्थी चापका कारण यस्तोजुक्ति अपनाउनु परेको हो । कक्षा ९मा २ सय २० जना विद्यार्थी भएका कारण शिक्षक अभावमा समेत विद्यालयले कक्षालाई विभाजन गर्दै दुई सेक्सनमा अध्ययन अध्यापन गराउँदै आएको छ भने कक्षा १०मा पनि बढी विद्यार्थी भएकै कारण दुई सेक्सन विभाजन गर्दै अध्यापन गराउँदै आएको छ । दुई सेक्सनमा विभाजन गरेर अध्यापन गराउँदा समेत विद्यार्थी बढी भएका कारण शिक्षकको आवाज विद्यार्थीले नसुन्ने समस्याले गर्दा गतबर्षबाटै हातेमाइकको प्रयोग गर्दै आएको बताइएको छ । जुन–जुन विषयको अध्यापनको लागि शिक्षक कक्षामा जान्छन् उनीहरुले सँगै हातेमाइक समेत लिएर जाने गरेका छन् – विद्यालयका सहायक प्रधानाध्यापक गुणनिधि लुइँटेलले भने ।
आइतवार नागरिक समाजले गरेको अनुगमनका क्रममा विद्यालयमा अत्यधिक विद्यार्थी रहेका कारण शिक्षकले हातेमाइक प्रयोग गरेर अध्यापन गर्ने गरेको पाइएको हो । स्थानीय अभिभावक, मानवअधिकार कर्मी र नागरिक समाजका पदाधिकारीसहित सञ्चारकर्मीको टोली विद्यालय पुग्दा विद्यार्थी बढी भएकै कारण कोचाकोच गरेर पठन–पाठन गराइरहेको पाइयो ।
भारतीय राजदूतावासको सहयोगमा विद्यालयको भवन निर्माण भए पनि कक्षा कोठाभन्दा तीन गुणा बढी विद्यार्थी आएपछि विद्यालयले कक्षा विभाजन गरेर पठनपाठन गराउने गरेको छ । सरकारले निर्माण गरे अनुसार नै कक्षा कोठा निर्माण गरिए पनि अत्यधिक विद्यार्थीका कारण एउटै कोठामा एक सय ५ भन्दा बढी विद्यार्थी राखेर अध्यापन गर्ने गरेको विद्यालयका शिक्षक रमेशप्रसाद सिंहले बताए । उनले भने– यो समस्या विगतका बर्षमा पनि झेल्दै आएको र यो बर्ष पनि सोही प्रक्रिया दोहोरिएको छ । मावि तहको शिक्षकको दरबन्दी सात रहेको छ । कक्षा ९ देखि कक्षा १२सम्म माध्यमिक कक्षा हुने सरकारले शिक्षा ऐन २०७३को ८औं संशोधनमा भने अुनसार ६ सय ४ जना विद्यार्थी सो विद्यालयमा अध्ययनरत् छन् ।
यता आधारभूत तहमा भने ५ सय ९ जना मात्र विद्यार्थी अध्ययनरत् छन् । करिब २२ हजार जनसंख्या रहेको राजगढमा एउटा मात्र कक्षा १२सम्म अध्यापन हुने सामुदायिक विद्यालय भएकाले पनि मध्यमिक तहमा विद्यार्थीको संख्या अधिक रहेको शिक्षक सिंहले बताए । आधारभूत तहमा विद्यार्थी संख्या कम भए पनि शिक्षक बढी र माध्यमिक तहमा विद्यार्थी संख्या बढी भए पनि शिक्षक कम भएका कारण पठनपाठनमा समस्या भएको विद्यालयका सहायक प्रधानाध्यापक लुइँटेलले बताए ।
निमावि तहका लागि तीन जना, प्रावि तहका लागि २ जना र एक जना निजी स्रोतबाट शिक्षक तथा दुई जना सहायक कर्मचारी र तीन जना कर्मचारीसहित २६ जनाको दरबन्दी विद्यालयमा रहेको छ । तर, माध्यमिक तह पढाउन शिक्षक अभावका कारण समस्या छ– लुइँटेलले भने । विद्यालयमा कूल एक हजार १ सय ३४ जना विद्यार्थी रहेको विद्यालय स्रोतले जनाएको छ ।
अनुगमनका क्रममा मानवअधिकार निगरानी समूहका देवी ओझा, नागरिक अगुवा मोतीखर सञ्जेल लगायतको टोलीले विद्यालयको अवस्थाको बारेमा जानकारी लिएको थियो । सो क्रममा शिक्षक नियमित रुपमा नआउने, निर्धारित समयमा नआउने, विद्यार्थी समय अवधिभन्दा अगावै घर जाने लगायतका समस्या समेत देखिएको थियो ।


